बैंकिङ खबर / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फेरि नेतृत्व परिवर्तन हुने भएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
चापागाईंले सोमबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन्। उनले आफ्नो निर्णय व्यक्तिगत कारणले भएको स्पष्ट पार्दै यसमा सरकारको दबाब वा अन्य कुनै विवादको भूमिका नरहेको बताएका छन्।
चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ नियुक्त भएका थिए। त्यसयता विभिन्न नीतिगत परिवर्तन र सरकारी निर्णयबीच पनि उनी पदमै कायम रहेका थिए। तर कार्यकाल पूरा नहुँदै उनले पद त्याग्ने निर्णय गरेका हुन्।
उनको राजीनामासँगै नेप्सेको नेतृत्व फेरि रिक्त भएको छ। अब अर्थ मन्त्रालयले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ।
नेपालको पुँजीबजार सञ्चालन गर्ने प्रमुख संस्थाको नेतृत्व परिवर्तनलाई बजारले चासोका साथ हेरेको छ। विशेषगरी बजार सुधार, प्रविधिमैत्री सेवा विस्तार, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा संस्थागत सुधारका कामबीच आएको नेतृत्व परिवर्तनले आगामी दिनमा नेप्सेको कार्यदिशामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा बजारको ध्यान केन्द्रित भएको छ।



