December 17th, 2022

घरजग्गामा बैंक, वित्तको लगानी ठप्प

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा लगानी घटाएका छन् । नेपाल राष्ट्र बैंकलेसार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक)को वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । चालु आवको पहिलो चार महिनामा बैंकहरुबाट घरजग्गा क्षेत्रमा १५ अर्ब ७६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जबकी, साउन र भदौ महिनामै घरजग्गा क्षेत्रमा १८ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह भइसकेको थियो ।

पछिल्लो दुई महिना अशोज र कात्तिक महिनामा बैंकहरुको घरजग्गा क्षेत्रमा नयाँ कर्जा लगानीभन्दा पनि पुरानो ऋण असुली बढी गरेको तथ्यांकले देखिएको छ । गत वर्षको साउनदेखि कात्तिकसम्म चार महिनामा घरजग्गा क्षेत्रमा बैंकहरूले ३४ अर्ब रुपैयाँ लगानी गरेका थिए । यस वर्ष आधाभन्दा बढीले कर्जा लगानी घटेको देखिन्छ । तरलता अभाव र चर्को व्याजदरका कारण पछिल्लो समय बैंकहरुले घरजग्गामा कर्जा लगानी गर्न सकेका छन् । त्यसमाथि नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई पनि गरेको छ ।

तरलता संकटका कारण कर्जा पाउन छाडेपछि घरजग्गा कारोबार पनि सुस्ताएको छ । पछिल्लो समय घरजग्गा व्यवसायले चरम मन्दीको सामाना गरिरहेको छ । चार महिनामा घरजग्गामा प्रवाह भएको कुल कर्जामध्ये ७ अर्ब ९९ करोड रुपैयाँ व्यक्तिगत आवासीय शिर्षकमा र ७ अर्ब ७७ करोड रुपैयाँ रियलस्टेट शिर्षकमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अधिकतम डेढ करोडसम्मको कर्जालाई व्यक्तिगत आवासिय घरकर्जामा गणना गर्ने व्यवस्था गरेको छ । डेढ करोडभन्दा बढी लिइएको कर्जा रियलस्टेट (कमर्शियल) कर्जामा गणना हुन्छ । रियलस्टेट कर्जामध्ये ३ अर्ब ३० करोड ५५ लाख रुपैयाँ रेसिडेन्सियल रियलस्टेटतर्फ (डेढ करोडसम्मको व्यक्तिगत आवासिय घरकर्जा बाहेक) प्रवाह भएको छ भने १२ करोड ७२ लाख रुपैयाँ आम्दानी सिर्जना गर्ने कमर्शियल कम्पलेक्स निर्माणमा प्रवाह भएको छ ।

यस्तै, अन्य रियलस्टेट (जग्गा खरिद तथा प्लटिङसमेत) क्षेत्रमा ५ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । कात्तिक महिनामा देशभरीका मालपोत कार्यालयबाट २७ हजार ९३९ लिखत पारित भएका छन् । गत वर्षको कात्तिकमा देशभरी ५० हजार ८३ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]