December 15th, 2022

सञ्चालक, सीईओ, लेखापरीक्षकको सेयर रोक्का राख्न नेप्सेको निर्देशन

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिहरुको सेयर कारोबार रोक्का राख्न सीडीएस एण्ड क्लियरिङलाई निर्देशन दिएको छ ।

नेप्सेले पत्र लेखेर उल्लिखित पदाधिकारीहरुको हकमा उनीहरु पदमा रहँदा र पदबाट हटेपछि पनि एक वर्षसम्म सेयर रोक्का राख्न सीडीएससीलाई निर्देशन दिएको हो । कम्पनीका भित्री सूचना चुहाएर सेयर किनबेच हुने प्रवृत्ति बढिरहेको समयमा त्यसलाई नियन्त्रण गर्न भन्दै नेप्सेले उक्त निर्देशन दिएको हो । नेपालमा कम्पनीका सञ्चालक लगायत जिम्मेवार उच्च पदाधिकारीहरु स्वयमले भित्री सूचना चुहाएर सेयर कारोबार गर्दै आएका छन् ।

‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो फरिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न, गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन,’ पत्रमा भनिएको छ, ‘सोही व्यवस्थाका आधारमा सम्पूर्ण सूचीकृत कम्पनीहरुले उल्लिखित पदाधिकारीहरुको सम्बन्धित सूचीकृत कम्पनीमा भएको सेयर सीडीएस एण्ड क्लियरिङमा रोक्का राख्नु हुन निर्देशन जारी गरिएको छ ।’

उल्लिखित सेयर १५ दिन भित्र रोक्का राख्न र त्यसको जानकारी गराउन पनि नेप्सेले भनेको छ । ‘उपर्युक्त अनुसार १५ दिन भित्र सेयर रोक्का राखी जानकारी गराउनु हुन एवम् नयाँ हुने उल्लिखित पदाधिकारीको उपर्युक्त अनुसार सेयर रोक्का गरेर मात्र जिम्मेवारी लिने व्यवस्था गर्नुहुन समेत अनुरोध छ,’ पत्रमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]