December 15th, 2022

रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढ्यो

बैंकिङ खबर/  पछिल्लो ४ महिनाको अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।

गत असोजमा रेमिट्यान्स आप्रवाह करिब १६.८ प्रतिशतले २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले

वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार १९६ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७ हजार ४२८ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]