
बैंकिङ खबर/ नेपाल उद्योग परिसंघको पछिल्लो अध्ययनले तरलता अभाव र ब्याजदर वृद्धिले बजारको मागमा संकुचन आएको निष्कर्ष निकालेको छ । परिसंघले विभिन्न क्षेत्रको अध्ययन गरेको थियो । जसमा तरलता अभाव र व्याजदर वृद्धिले व्यवसायी मारमा परेको जनाएको छ ।
समग्र क्षेत्रको अध्ययनअनुसार अहिले बजारमा माग २८.२८ प्रतिशतले घटेको देखाएको छ । परिसंघले देशभर रहेका क्षेत्र र उपक्षेत्र गरी १८ वटा विभिन्न क्षेत्रको अध्ययन गरेको थियो । उक्त अध्ययनबाट अहिले बजार मागमा निकै संकुचन देखाएको हो । बजार समग्रमा २८ प्रतिशतले माग घटेको छ भने २५ प्रतिशतले कारोबार घटेको अध्ययनमा उल्लेख छ ।
नेपालले अधिकांश वस्तु आयात गरी बजारमा आपूर्ति गर्दै छ । तर, तरलता अभाव र ब्याजदर वृद्धिका कारण आयातित वस्तुमा समेत कमी आएको छ । परिसंघअनुसार अहिले वस्तु आयात गर्नका लागि खोलिने एलसी पनि २२ प्रतिशतले कमी आएको छ । बजारमा तरलता अभाव र मूल्यवृद्धिले अटोमोबाइल क्षेत्रमा ७८ प्रतिशतले मागमा कमी आएको अध्ययनले देखाएको छ । अध्ययनअनुसार ७८.१ प्रतिशतले माग घट्दा ७१.१ प्रतिशतले कारोबार घटेको छ । साथै, एलसी ८९ प्रतिशतले घटेको छ ।
त्यसैगरी, बजारमा सिमेन्टको माग ४०.२ प्रतिशतले घटेको छ भने अधिकांश सिमेन्ट क्षेत्रको कारोबार ३९ प्रतिशतले घटेको छ । इन्जिनियररिङ र निर्माण कम्पनीको माग ४३.४ प्रतिशत, फुटवेयर ४५.३ प्रतिशत, एलपीजी ग्यास १२ प्रतिशत, अन्य उत्पादन क्षेत्रमा २९.४ प्रतिशत, औषधी क्षेत्रमा १८.८ प्रतिशत, प्लास्टिक उत्पादन क्षेत्रमा ३८.२ प्रतिशत, घरजग्गा क्षेत्र ५२.८ प्रतिशत, एसएमईज ३३.७ प्रतिशत र स्टिल उद्योग क्षेत्रको ६१.१ प्रतिशतले माग घटेको छ ।
यो अवधिमा ई–कमर्सको माग ५.५ प्रतिशत, एफएमसीजी २.५ प्रतिशत, आइटी क्षेत्र १४.५ प्रतिशत र गोर्मन्ट क्षेत्रको माग १.१ प्रतिशतले बढेको छ । बजारमा लगानीयोग्य पुँजी नभएको र ब्याजदर वृद्धिले गर्दा करिब ७० प्रतिशत व्यवसायी थप लगानीबाट पछि हटेका छन् । अध्ययनअनुसार विभिन्न क्षेत्रका ६९.४४ प्रतिशतले थप लगानीबाट पछि हटेका हुन् ।
परिसंघले गरेको अध्ययनमा कृषि क्षेत्रका ८५.७१ प्रतिशत, अटोमोबाइल क्षेत्रका शतप्रतिशत, सिमेन्ट उत्पादन क्षेत्रका ८३.३ प्रतिशत, इन्जिनियरिङ र निर्माण कम्पनी क्षेत्रको ७१.४ प्रतिशत, ई–कमर्स क्षेत्रको ५० प्रतिशत, एफसीजी क्षेत्रको ४१.७ प्रतिशत, एपलपीजी ग्यासको ५० प्रतिशत, आइटी क्षेत्रको ४५.५ प्रतिशत र अन्य क्षेत्रको ७२.२ प्रतिशत व्यवसायी थप लगानीबाट पछि हटेका छन् ।
त्यस्तै, प्लास्टिक क्षेत्रको ८० प्रतिशत, रियल स्टटे क्षेत्रको ४० प्रतिशत, एसएमईज क्षेत्रको ४२.९ प्रतिशत, स्टिल क्षेत्रको ८५.७ प्रतिशत र गार्मेन्ट क्षेत्रको ८५.७ प्रतिशत व्यवसायी तरलता अभाव र ब्याजदर वृद्धिले गर्दा थप लगानी गर्नबाट डराएका छन् । साथै, औषधी, फुटवेयर र अटोमोबाइल क्षेत्रका व्यवसायीहरुले भने कुनै पनि थप लगानी गर्ने मनिस्थितिमा छैनन् । अहिले बजारमा कच्चा पदार्थको समग्र मूल्य २३ प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।