बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रप्रति सरकारले फरक दृष्ट्रिकोण राखेको छैन, अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानेको बताउनुभयो ।
‘सरकारले निजी क्षेत्रलाई अर्कै नजरले हेर्छ भन्ने बुझाइ छ, तर सरकारले आफ्नै अभिन्न अङ्गका रुपमा लिएको छ, निजी क्षेत्रले दिएका सुझाव नै सरकारको नीतिमा पर्ने गरेका छन्’, अर्थमन्त्री शर्माले भन्नुभयो । अहिले अर्थतन्त्रमा देखिएका समस्या आन्तरिक कारणले मात्र नभइ विश्वव्यापी रुपमा सिर्जित बाह्य परिदृश्यका कारणसमेत रहेको जनाउँदै उहाँले समस्या समाधानका लागि सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भर्खरै मात्र सम्पन्न भएको र निर्वाचित प्रतिनिधिले अब विकासको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि अर्थमन्त्री शर्माको भनाइ छ । ‘नागरिकमा विकासको चाहना छ र यो संवैधानिक आवश्यकता पनि हो । अहिलेको अवस्थामा उत्पादन वृद्धि र आयात प्रतिस्थापन गर्ने कुराको महत्व छ । यसका लागि राज्यका सबै निकाय त्यसलाई कटिबद्ध भएर लाग्न म आग्रह गर्दछु’ उहाँले भन्नुभयो ।
