
बैंकिङ खबर/ प्रदेश तथा शाखा कार्यालयहरूलाई पर्याप्त अधिकारी विनियोजन गर्न नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ ।
दाबी भुक्तानी प्रक्रियालाई प्रभावकारी बनाउनुका साथै बिमाप्रति आम जनसमुदायको विश्वास अभिवृद्धि गर्नका लागि पनि कम्पनीहरूका हरेक प्रदेश र शाखा कार्यालयहरू पर्याप्त अधिकारसहित कार्यान्वयनमा ल्याउनुपर्नेमा उहाँको जोड छ ।
नेपाल बिमा प्राधिकरणको आयोजनामा वीरगञ्जमा बिमासम्बन्धी समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बिमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरू बिमा ऐन, २०७९ बाट नै सम्बोधन हुने उल्लेख गर्दै संशोधित बिमा ऐनले नेपाल बिमा प्राधिकरणलाई बढी स्वायत्तता प्रदान गरेको बताउनुभयो । यही कारण अब बिमासम्बन्धी सबै विषयमा प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अघि बढ्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले निर्जीवन बिमाअन्तर्गत बालबालिकाको बिमामा समस्या देखिएकाले जीवन बिमालेख निर्देशिका, २०७८ संशोधन गर्नुपर्ने, बैंकहरूले मुद्दती खातामा लगानी गरेपछि मात्र बिमा व्यवसाय बिमकलाई दिने परिपाटीले गर्दा बिमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको लगायत गुनासो गरेका थिए ।



