
बैंकिङ खबर/ शंकास्पद आर्थिक कारोबार तथा गतिविधि सबैभन्दा बढी वाणिज्य बैंकहरुबाट हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकमा रहेको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआईयू नेपाल’ को गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७/७८ मा १ हजार ५ सय ३३ वटा शंकास्पद कारोबार (सस्पिसियस ट्रान्जेक्सन रिपोर्टिङ–एसटीआर र सस्पिसियस एक्टिभिटी रिपोर्टिङ– एसएआर) का उजुरी प्राप्त भएकोमा गत आर्थिक वर्षमा बढेर २ हजार ७ सय ८० वटा पुगेको छ ।
एफआईयूलाई प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै ८५.६१ प्रतिशत वाणिज्य बैंकबाट, ६.७३ प्रतिशत रेमिट्यान्स कम्पनीबाट, ४.२८ प्रतिशत विकास बैंकबाट र १.५८ प्रतिशत लघुवित्त वित्तीय संस्थाबाट प्राप्त भएको बताइएको छ । बिमा कम्पनी, सहकारी, धितोपत्र कारोबार गर्ने कम्पनी र अन्यबाट पनि शंकास्पद कारोबारको उजुरी आउने क्रम बढेको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा प्राप्त कुल २ हजार ७ सय ८० उजुरीमध्ये १ हजार ६ सय ६० वटाको विश्लेषण भइसकेको, ४ सय ९ वटा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको र ६ सय ५९ वटा उजुरी स्थगित गरिएको एफआईयूले जनाएको छ । थप अनुसन्धानका लागि पठाइएका ४ सय ९ वटामध्ये सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरी ६१, नेपाल प्रहरीसम्बद्ध २ सय १०, राजस्व अनुसन्धान विभासम्बद्ध १ सय ६२, आन्तरिक राजस्व विभागसम्बद्ध १६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बद्ध १३ र बाँकी अन्य क्षेत्रसम्बद्ध उजुरी छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लिखित सबै क्षेत्रबाट प्राप्त उजुरी बढेको प्रतिवेदनले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा सम्पत्ति शुद्धीकरणसम्बद्ध उजुरी २६, नेपाल प्रहरीसम्बद्ध ९८, राजस्व अनुसन्धान विभागसम्बद्ध ७५, आन्तरिक राजस्व विभागसम्बद्ध ३ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बद्ध २ उजुरी एफआईयूले स्थानान्तरण गरेको थियो ।