
बैंकिङ खबर/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अवस्था निकै गम्भीर भएको बताउनुभएको छ । सोमबार बिहान खुमलटारस्थित उहाँको निवासमा भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग प्रचण्डले भन्नुभयो, ‘देशको अवस्था निकै गम्भीर छ, हामी सबै मिलेर समाधान गर्नुपर्छ । अहिलेको देशको अर्थतन्त्रको विषयमा म निकै सम्बेदनशील छु । तपाईंहरुका पीर मर्का बुझेर काम गर्छौं ।’
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको अवगत गराएको थियो ।
अध्यक्ष गोल्छाले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको बताउनुभयो ।
बिहान १० बजे महासंघको टोली प्रचण्ड निवास पुगेको थियो । अध्यक्ष गोल्छाले १५ मिनेटजति अर्थतन्त्रका विद्यमान समस्याबारे प्रचण्डलाई अवगत गराए ।महासंघको टोलीले आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर यी नै समस्या तथा समाधानका उपायहरु सुझाएको थियो ।