
बैंकिङ खबर/बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताउनुभयो । उहाँले मौद्रिक नीतिको समीक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको बताउनुभयो । बैंकहरुको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने उहाँको भनाइ छ ।
राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुको अभिभावक भएपनि बैंकहरुलाई नै धरासायी बनाउने गरी मौद्रिक नीति ल्याएको उहाँले बताउनुभयो । मौद्रिक नीतिको समीक्षाबाट बैंकहरुको अभिभावक राष्ट्र बैंक भएपनि बैंकहरुलाई सौतेनी व्यवहार जस्तो गरेको उहाँको भनाइ छ ।
गोल्यानले बैंकको निक्षेपको ब्याजदर घट्नुको भने विकल्प नभएको बताउनुभयो । अध्यक्ष गोल्यानले बैंकिङ प्रणालीमा चरम तरलता अभाव रहेको बताउनुभयो । उहाँले बैंकहरुको खराब कर्जा बढ्नसक्ने अवस्था देखिएको बताउनुभयो ।