
बैंकिङ खबर/ सिन्धुपाल्चोक घर भई हाल काठमाडौं थली बस्दै आउनुभएकी विनिता लामिछाने शंकरदेव कलेजमा एमबीएस चौथो सेमिस्टारमा अध्ययनरत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरो एउटै उदेश्य बैंकर्स बन्ने हो ।’ उहाँ थप्नुहुन्छ, ‘प्रोफेसनल काम भयो । पढ्न पनि फाइनान्सनै पढियो । बैंकस हुन पाइयो भने सेक्युरेटिको हिसाबले पनि राम्रो हुने भयो ।’
उहाँ जस्तै गोरखा आरुघाटका सुजन कोइराला यतिबेला काठमाडौंकै बीएमसी कजेलमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । म्यानेजमेन्ट विषयमा ब्याचलर दोस्रो वर्षमा पढ्दै गर्नुभएका उहाँको एउटै उदेश्य भनेको बैंकर्स बन्ने हो । उहाँ भन्नुहुन्छ, ‘भविष्यमा बैंकर्स बन्ने सोचले नै अहिले मेहनत गरिरहेको छु । पक्कै पनि सफलता मिल्ने आशा छ ।’
झापाकी बिनिता ओली म्यानेजमेन्टकी विद्यार्थी हुनुहुन्छ । पछि बैंकर बनी भविष्य सुरक्षित गर्ने लक्ष्यसहित उहाँले म्यानेजमेन्ट विषय छान्नुभएको हो । पढ्नमा अब्बल दर्जाकी उहाँँको सानैदेखि म्यानेजमेन्ट विषय लिएर बैंकर बन्ने रहर थियो । त्यहि रहर अहिले उहाँको जीवनको ‘मकसद’ बनेको छ । विनिताजस्तै धेरै युवा अहिले बैंकको जागिरे हुने प्रयासमा छन् ।
हेर्दा चिटिक्क टाईसुटमा सजिएको दैनिकी अनि आकर्षक सेवासुविधा र सुरक्षित भविष्य । यही देखेर अहिलेका युवा पिँढी बैंकमा करिअर बनाउन विज्ञान विषयलाई पछि धकेलेर म्यानेजमेन्ट पढ्न आकर्षित भएका हुन् ।
बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्ने वित्तीकै आर्थिक हैसियत उकासिने भएकाले पनि यसको आकर्षण अझ बढ्दो छ । अन्य पेसा तथा व्यवसायका तुलनामा बैंकको जागिर सानै पद भएपनि जीवनयापन गर्न थप संघर्ष गर्नु नपर्ने बैंकका जागिरेहरूको अनुभव छ ।
सुनधाराकी झरना कार्की म्यानेजमेन्ट इन बिजनेस स्टडी (एमबीए) सकेको सात वर्ष भयो । सञ्चारमाध्यममा कार्यरत उहाँले एमबीए सकिनेबित्तिकै वित्तीय क्षेत्रलाई आफ्नो करिअर बनाउनुभयो । अधिकृत स्तरको जागिरमा कार्यरत उहाँको लाइफ स्टाइल पहिलेको पेसामा भन्दा अझ सुरक्षित र आकर्षक बनेको छ । ’बैंकिङ क्षेत्र ग्ल्यामर र मर्यादित क्षेत्र भएकाले लागेको हुँ’, झरना भन्नुहुन्छ ।
नेपाल बैंक लिमिटेडका पूर्व सीईओ देवेन्द्र प्रताव शाह कृषि विकास बैंकमा सेक्सन अफिसरका रुपमा ३५ वर्षअघि आफ्नो बैंकिङ करिअर शुरु गर्नुभएको थियो ।
उहाँको बैंकिङ करिअरले ३५ वसन्त पार गरेको छ । उहाँले बीमा समितिको अध्यक्षको नेतृत्व समेत सम्हाली सक्नुभएको थियो । यो पेसा सुरक्षित हुनुका साथै समाज तथा आमजनमानसले हेर्ने दृष्टिकोण नै फरक छ’, उहाँ भन्नुहुन्छ, ‘पहिला म साहित्यमा जान चाहान्थेँ । घर तथा आफन्तको इच्छाअनुसार यो क्षेत्रमा प्रवेश गरेँ ।’
बैंकिङ क्षेत्रले उपलब्ध गराउने सेवासुविधा, काम गर्दा प्राप्त हुने सन्तुष्टि, समाज तथा आममानिसको दृष्टिकोणमा बैंकिङ क्षेत्र उच्च रहेको उनले बताए । केही समयअघिसम्म बैंक तथा वित्तीय क्षेत्र साँघुरो भएकाले यसमा कम अवसर थियो । अहिले वित्त बजार फराकिलो भएको छ । त्यसैले बैंकिङ करिअरमा अवसर बढ्दो छ । अहिले बैंकिङ क्षेत्रमै अवसर नपाए पनि म्यानेजमेन्ट विषय पढेका विद्यार्थीको भविष्य राम्रो बन्दै गएको शाहको मूल्यांकन छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू विस्तार भइरहेका छन् । गाउँ-गाउँसम्म यसका सेवा पुग्दैछन् । यसको विस्तारसँगै यसमा करियर बनाउनेको संख्या पनि बढ्दो छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा २५ हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । यो तथ्यांक वाणिज्य बैंकको मात्र हो । विकास बैंक,फाइनान्स कम्पनी तथा लद्युवित्तको तथ्यांक भने नेपाल राष्ट्र बैंकसँग पनि छैन ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाको आकर्षण अझ बढ्दो छ । यो क्षेत्र मर्या्िदत हुनुका साथै काम गर्ने निश्चित समय अवधि, कामअनुसारको आकर्षक तलबभत्ता अनि वार्षिक बोनसको सुविधा भएकाले पनि यसमा आकर्षण बढेको हो । बैंकको जागिर सानै पद भए पनि दुईचार लाख जोगाउन सकिने क्षेत्र हो ।
बाहिरी आकर्षण त छ नै, त्यसमा पनि जिम्मेवार, लगनशील तथा पेसागत क्षेत्र हो बैंकिङ । बैंकिङ क्षेत्रमा लाग्नेको परिवारको समेत भविष्य सुरक्षित हुने भएकाले यसको आकर्षण अझ बढेको नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष अनिलकेशरी शाहको धारणा छ ।
’एउटा सानो पदबाट बैंकिङ क्षेत्रमा प्रवेश गरियो भने पनि ऊ अवकाश पाउने समयसम्म बैंकको दोस्रो तथा तेस्रो पोजिसनमा पुग्छ’, उहाँ भन्नुहुन्छ, ‘एक त मर्यादित पेसा, त्यसमा पनि उसले पाउने सेवा सुविधा ।’ परिवारको भविष्यसमेत सुरक्षित हुन्छ यो पेसामा’, शाहले भन्नुहुन्छ ।



