
बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकको ब्याजदर वृद्धि र तरलता अभावका कारण निजी क्षेत्रको मनोबल कमजोर बनेको बताउनुभएको छ ।
शुक्रबार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले बजारमा तरलताको चरम अभाव, उद्योगको उत्पादन क्षमतामा कमी, बैंकको ब्याजदर वृद्धि लगायतका कारण निजी क्षेत्रको मनोबल कमजोर भएको बताउनुभयो ।
सरकारले लामो समय आयात प्रतिबन्ध गर्दा राजश्व संकलनमा कमी आएकाले सरकारको चालु खर्चमै समस्या हुन सक्ने उहाँको भनाइ छ । अध्यक्ष गोल्छाले अहिले विदेशमा रहेका ५० लाख युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको बताउँदै देशभित्र नै युवाहरुलाई रोजगारी दिन नसक्नु निजी क्षेत्र र सरकारको कमजोरी भएको बताउनुभयो ।
सरकारले उद्योगलाई बचाउन सके मात्रै अहिले देखिएको अर्थतन्त्रको समस्या समाधान हुने उहाँको भनाइ छ । उद्योग क्षेत्रका समस्या समाधान गर्नका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उहाँको भनाइ छ । नेपालमा मूल्य अभिवृद्धि हुने, धेरै रोजगारी सृजना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमा अनुदान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । वाणिज्य बैंकहरुको उद्देश्य नाफा कमाउने हुने हुँदा ब्याजदरको अस्थिर अवस्थामा बैंकभन्दा उद्योग बचाउन सरकारले अनुदान दिनुपर्ने गोल्छाको भनाइ छ ।
त्यस्तै, उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराश रहेको बताउनुभयो । उहाँले पछिल्लो समय तलरलताको चरम अभाव, बैंकको ब्याजदर १८ प्रतिशतसम्म पुग्नु, मागमा समेत ठूलो रुपमा संकुचन भएकाले निराशा छाएको बताउनुभयो । लगानी गर्ने वातावरण नभएकाले ७० प्रतिशत उद्योगी लगानी रोकेर राखेको उहाँले बताउनुभयो । सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुलाई सहुलियत दिन उहाँको माग छ ।