Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चुनावले निकाल्यो लुकेको पैसा : बैंकमा बढ्यो निक्षेप, आर्थिक क्रियाकलाप बढ्ने अपेक्षा

२०७९ मंसिर ९ गते

बैंकिङ खबर/ आम निर्वाचन २०७९ सँगै बैंकहरुमा निक्षेप बढ्न थालेको छ । निक्षेप बढेसँगै लगानीयोग्य रकममा केही सहज हुनथालेको छ । हरेक बैंकहरुमा संकलन हुने निक्षेपमा वृद्धि भइरहेको छ । समग्र बैंक तथा वित्तीय संस्थाहरुको अवस्था हेर्ने हो भने पनि दैनिक अर्बभन्दा बढी रकम निक्षेप वृद्धि भइरहेको छ ।

मंगलबारसम्ममा २६ वटा वाणिज्य बैंकको निक्षेप संकलन ४५ खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा एकैदिन १ अर्ब बढेर बुधबार ४५ खर्ब ६३ अर्ब पुगेको हो। चालू आर्थिक वर्ष सुरु भएदेखि यताको समय हेर्दा अहिलेसम्म तरलतामा सहज स्थिति अहिले देखिएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुमा असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रहेको थियो। साउन मसान्तमा ४४ खर्ब ३३ अर्ब, भदौ मसान्तमा ४४ खर्ब ८५ अर्ब, असोज मसान्तमा ४५ खर्ब ४७ अर्ब र अहिले कात्तिम मसान्तसम्म आइपुग्दा ४५ खर्ब ६३ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुको निक्षेप कायम भएको देखिएको हो।  यसरी हेर्दा चालू आर्थिक वर्षको अहिलेसम्म उच्च निक्षेप संकलन भएको छ।

यस्तै आम निर्वाचनले अर्थतन्त्र चलायमान भएको छ । दसैं, तिहार, छठ पर्व सकिएको केहि दिनमै निर्वाचन भएकाले पनि आर्थिक क्रियाकलाप बढेको हो । निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र उम्मेदवारले गरेको खर्चले बजारमा आर्थिक गतिविधि बढाएको छ । चुनावले अर्थतन्त्र विस्तार गर्न भूमिका खेल्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुहुन्छ । चुनावले होटल, रेष्टुरेन्ट, खुद्रा पसल, प्रचार सामग्री, सवारी साधनको प्रयोग बढेको छ ।

सरकारले निर्वाचन आयोगलाई १० अर्ब र सुरक्षा निकायलाई १० अर्ब गरी करिब २० अर्ब रूपैयाँ खर्च गर्ने निर्णय गरेको थियो । यसका अतिरिक्त दलहरूले पनि करिब १५ अर्ब रूपैयाँ बढी खर्च गरेको प्रारम्भिक अनुमान छ । निर्वाचन आयोगले मत पत्र छपाइ, निर्वाचनमा प्रयोग हुने सामग्री, प्रचारप्रसार, कर्मचारी परिचालन, सुरक्षा निकायका लागि आवश्यक सामग्री, सवारी साधन, पोशाक, सुरक्षा निकाय तथा कर्मचारी भत्ताको लागि रकम खर्च गरेको छ । सरकारले निर्वाचन आयोगमार्फत गर्ने खर्चसँगै उम्मेदवारले पनि मोटो रकम खर्च गर्ने गरेका छन् । दल तथा उम्मेदवारले प्रचारप्रसार सामग्री, सवारी साधन, होटलको खानपान, कार्यकर्ता परिचालन लगायतमा ठूलो रकम खर्च गरेका छन् ।

प्रचारप्रसारका सामग्रीको छपाइ, साउन्ड सिस्टम, इन्धन, फूलमालादेखि पर्चा, पम्पलेटमा पनि खर्च भएको छ। चुनावमा दलका नेताहरूले अनौपचारिक रूपमा पनि मोटो रकम खर्च गरेका छन्। यसका अतिरिक्त उम्मेदवारले पनि मोटो रकम खर्च गरेका छन्। प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ दुई हजार चार सय सय १२ उम्मेदवार थिए। हरेक उम्मेदवारलाई औसत २९ लाख खर्च गर्न सक्ने गरी निर्वाचन आयोगले सीमा निर्धारण गरेको थियो।

सबै उम्मेदवारले निर्वाचन आयोगले तोेकेको सीमा खर्च गरे भने ६ अर्ब ९९ करोड रूपैयाँ खर्च हुन्छ। प्रमुख दलका उम्मेदवारले प्रतिनिधिसभामा न्यूनतम करिब १ करोड रूपैयाँदेखि २–३ करोड रूपैयाँसम्म खर्च गरेका छन् । कांग्रेस नेता डा. सशांक कोइरालाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ६ करोड रूपैयाँ खर्च भएको सार्वजनिक कार्यक्रममा बताएका थिए। यसले उम्मेदवारले गर्ने खर्चको बारेमा संकेत गर्छ । अन्य स्वतन्त्र उम्मेदवारले भने कम खर्च गर्ने गरेका छन्।