
बैंकिङ खबर/मंगलबारदेखि कोरोना बिमाको भुक्तानी गर्न शुरु गरिने भएको छ । नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई उक्त निर्देशन दिएको छ । प्राधिकरण र बिकम संघको संयुक्त बैठकमा मंगलबार प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
सञ्चालक समितिबाट निर्णय भइनसकेको भन्दै तत्काल (यही साता) भुक्तानी सुरु गर्न कम्पनीहरूले आनाकानी गरेपछि उनीहरूलाई पर्याप्त समय दिन अर्को सातासम्म पर्खिनुपरेको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो ।
सबै निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपस्थित बैठकमा सर्वसम्मत रूपमा मंसिर १३ देखि कोरोना बिमा भुक्तानी सुरु गर्ने निर्णय भएको उहाँको भनाइ छ । आफ्नो सञ्चालक समितिबाट कोरोना बिमा भुक्तानीका लागि थप रकम नदिने औपचारिक रूपमा निर्णय गरेको नेपाल पुनर्बिमा कम्पनीबाट पनि मंगलबारसम्म पैसा आइसक्ने अध्यक्ष सिलवालको दाबी छ । अध्यक्ष सिलवालले पुनर्बिमाबाट पनि आउँदो सातासम्म रकम आउने दाबी गरिरहँदा नेपाल पुनर्बिमा कम्पनी भने पुरानै अडानमा देखिएको छ । नियामक निकायको निर्देशनबमोजिम यसअघि नै १ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरिसकेकाले थप रकम तिर्न नसकिने नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष रवीन्द्र घिमिरेले बताउनुभयो ।
बिमा कम्पनीहरूको छाता संगठन बिमक संघले भने कोरोना बिमाको भुक्तानी सुरु गर्न कम्पनीहरूलाई आग्रह गरिसकेको छ । यही मंसिर २ मा बिमा कम्पनीहरूलाई पत्र लेखेर संघले उक्त आग्रह गरेको हो । संघका अनुसार पहिलो चरणमा कोरोना बिमाका १८ हजार १ सय ८२ जना बिमितले मात्र भुक्तानी पाउने भएका छन् । परेका दाबीमध्ये २५ हजार ८४ वटा व्यक्तिगत र परिवारका छन् । तीमध्ये कोरोना संक्रमण भएको पीसीआर रिपोर्टका आधारमा पहिले आउनेलाई पहिलो प्राथमिकता (फस्ट कम फस्ट सर्भिस) दिई भुक्तानी दिन संघले कम्पनीहरूलाई आग्रह गरेको छ ।


