
बैंकिङ खबर/राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य बढेको देखाएको छ । गत असारको तुलनामा असोजसम्ममा घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको वृद्धिदर ३.८ प्रतिशतले मात्र बढेको छ । तर गत आर्थिक वर्षको असोजसँगको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जा १८.७ प्रतिशतले बढेको देखिन्छ । राष्ट्र बैंकको गत असोजको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गा क्षेत्रमा कुल २ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ थियो ।
घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढ्दै गए पनि राष्ट्र बैंक र सरकारको नीतिका कारण केही महिनायता व्यवसायीले बैंकबाट ऋण लिन नपाएको नेपाल जग्गा तथा आवास विकास संघका कार्यवाहक अध्यक्ष विदुर धमलाको दाबी छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट भने अल्पकालीन प्रयोजनका कर्जा पनि नियमित हुने क्रममा घरजग्गा धितोअन्तर्गत राखिएकाले ऋण प्रवाह बढेको हुन सक्ने बताउनुहुन्छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा डेढ करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा १०.८७ प्रतिशतले बढेको छ । यसअनुसार गत असोजसम्म व्यक्तिगत आवासीय घर कर्जा शीर्षकमा ३ खर्ब ४४ अर्ब १९ करोड रुपैयाँ प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा यस शीर्षकमा ३ खर्ब १० अर्ब ४४ करोड रुपैयाँ कर्जा भएको थियो । गत असोजसम्म घरजग्गा कर्जाअन्तर्गत आवासीय रियल इस्टेट कर्जा ६५ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ प्रवाह भएको छ । गत वर्ष सोही अवधिमा यो शीर्षकमा ५२ अर्ब ८ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । घरजग्गा कर्जाअन्तर्गतका सबै शीर्षकमा कर्जा बढ्दै गएको प्रतिवेदनले देखाएको छ ।
यसअनुसार व्यावसायिक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट क्षेत्रमा चालु आर्थिक वर्षको तीन महिनामा २४ अर्ब १५ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जब कि गत आर्थिक वर्षको तीन महिनामा यो क्षेत्रमा २२ अर्ब ९२ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर आम्दानी हुने व्यावसायिक कम्प्लेक्स शीर्षकमा भने गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कर्जा प्रवाह घटेको छ ।
गत वर्ष असोज मसान्तसम्म ९ अर्ब ६६ करोड २९ लाख रुपैयाँ प्रवाह हुँदा यस वर्ष ७ अर्ब ११ करोड ८० लाख रुपैयाँ मात्रै गएको राष्ट्र बैंकको तथ्यांक छ । अन्य रियल इस्टेट (जग्गा खरिद तथा प्लटिङ) का लागि यस वर्ष १ खर्ब ४० अर्ब ३५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत वर्ष १ खर्ब १४ अर्ब ९६ करोड ७७ लाख कर्जा प्रवाह भएको थियो । बैंकको ५ वर्षको तथ्यांक हेर्दा पनि बर्सेनि व्यक्तिगत आवासीय कर्जा र घरजग्गा कर्जा दुवै बढ्दै गएको देखाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष ०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै घरजग्गा ऋणमा कडाइ गर्न थालेको थियो । ‘