Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तरलता प्रवाह दोब्बरले बढ्यो

२०७९ कार्तिक ३० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २३ खर्ब ५५ अर्ब रुपैयाँ बढी तरलता बैंकिङ प्रणालीमा पठाएको छ। राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालुु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोजमा बैंकिङ प्रणालीमा कुल २३ खर्ब ५५ अर्ब ९ करोड रुपैयाँ तरलता प्रवाह गरेको जनाएको हो। अघिल्लो वर्षको सोही अवधिमा खुला बजारका विभिन्न उपकरणहरुमार्फत खुद ९ खर्ब ४८ अर्ब १७ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा रिपोमार्फत १ खर्ब ८८ अर्ब ६६ करोड रुपैयाँ तरलता प्रवाह गरेका राष्ट्र बैंकले सोझै खरिद बोलकबोलमार्फत ४३ अर्ब ७० करोड रुपैयाँ प्रवाह गरेको छ। स्थायी तरलता सुविधामार्फत सबैभन्दा बढी २१ खर्ब २२ अर्ब ७३ करोड रुपैयाँबराबरको तरलता बैंकिङ प्रणालीमा प्रवाह गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव हुँदा राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरणको प्रयोग गरी प्रणालीमा तरलता प्रवाह गर्दछ। समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब २० करोड खुद खरिद गरी १ खर्ब ५४ अर्ब ४ करोड तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी २९ अर्ब ७३ करोड तरलता प्रवाह गरिएको थियो।