२०७३ आश्विन २२ गते

वर्षेनि बढ्दै ऋणको स्तर : वित्तीय संकटको खतरामा विश्व

economyसन् २०१५ मा विश्वव्यापी ऋणको स्तरमा उच्च वृद्घि भएको छ । निजी तथा सरकारी दुवै स्तरको ऋणमा भएको वृद्धिले विश्वव्यापी आर्थिक वृद्घिलाई सामान्य अवस्थामा फर्किन बाधा उत्पन्न गराएको अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बताएको छ । विश्वका प्रमुख केन्द्रीय बैङ्कहरूको मौद्रिक नीतिमा आएको सहजताले समस्या निम्त्याएको छ भने केही न्यून आम्दानी भएका राष्ट्रको सरकारी ऋणमा भएको वृद्धिले पनि विश्वमा ऋणको स्तर बढाउन सहयोग गरेको एक प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले बताएको छ ।

यस्तै आर्थिक वृद्धिमा आएको सुस्तीले कम्पनी र राष्ट्र दुवैलाई आफ्नो ऋणको स्तर घटाउन कठिनाइ उत्पन्न गरेको पाइएको छ । यसले कम्पनीको खर्च र लगानी दुवै घटाउने हुँदा आर्थिक वृद्घिको गति पनि सुस्त बन्ने बताइएको छ । विश्वमा ऋणको स्तर कीर्तिमानी उचाइमा पुगेको छ र यो थप बढ्नो क्रममा रहेकोमा आइएमएफले चिन्ता प्रकट गरेको छ ।

गतवर्षको अन्त्यसम्ममा वित्तीय क्षेत्रको ऋणबाहेक विश्वको सरकारी तथा निजी ऋणको आकार १ सय ५२ ट्रिलियन डलर रहेको थियो । यसको दुई तिहाइ हिस्सा निजीक्षेत्रले ओगटेको प्रतिवेदनमा भनिएको छ । गत १५ वर्षमा विश्वव्यापी ऋणको स्तर विश्वको कुल गार्हस्थ्य उत्पादनको २ सय प्रतिशतबाट बढेर २ सय २५ प्रतिशत पुगेको प्रतिवेदनमा भनिएको छ । ऋणको यो आकारले वित्तीय सङ्कटको जोखीम बढाउन सक्ने बताइएको छ । एजेन्सी