Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मजबुद बन्दै नेपाली रुपैयाँ

२०७९ कार्तिक २९ गते


बैंकिङ खबर/पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) बलियो बन्दै गएको छ । यस अवधिमा अमेरिकी डलरको विनिमय दर घटिरहेकाले नेपाली मुद्रा बलियो बनेको हो । यही कात्तिक ३ मा नेपाली रुपैयाँसँग एक अमेरिकी डलरको विनिमय दर १३३.१४ रुपैयाँ थियो । यो हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो अमेरिकी डलर कमजोर बन्दै गएको हो ।

गएको एक वर्षमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ५ पटकसम्म ब्याजदर बढाइसकेको छ । मूल्यवृद्धि चार दशककै उच्च बिन्दुमा पुगेपछि ब्याजदर वृद्धिमार्फत नागरिकको उपभोग क्षमतामा कमी ल्याउने रणनीतिमा त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाएको हो । ब्याजदर वृद्धि भएपछि विश्व बजारमै अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । सोही कारण डलरको भाउ बढेर निरन्तर उकालो लागिरहेको थियो ।

पछिल्लो पटक गत बुधबार (नोभेम्बर १०, २०२२) मा पनि फेडले ब्याजदर बढाएको छ । तर बिहीबार त्यहाँको तथ्यांक विभागले मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । मुद्रास्फीतिका नयाँ तथ्यांक सुधारिएर आएका छन् । यसरी मुद्रास्फीतिको अवस्थामा सुधार भएकाले आउँदा दिनमा त्यहाँको केन्द्रीय बैंकले ब्याजदर नबढाउने प्रक्षेपणका आधारमा शुक्रबारदेखि अमेरिकी डलरको भाउ घटिरहेको राष्ट्र बैंकका पूर्वकामु डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले बताए ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमयदर १३०.३२ रुपैयाँ (बिक्रीदर) तोकेको छ । सोही दिनको खरिद दर १२७.७२ रुपैयाँ छ । यो करिब चार सातायताकै कम हो । गएको एक वर्षसम्म विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको थियो ।