Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बीमालेख धितो कर्जाको ब्याजदर बढ्यो

२०७९ कार्तिक २८ गते

बैंकिङ खबर/ बीमालेख धितो कर्जाको ब्याजदर वृद्धि भएको छ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी लिने कर्जाको ब्याजदर वृद्धि गरेका हुन् । कम्पनीहरुले विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइदै आएको ब्याजदरलाई परिमार्जन गरेका छन् ।

कम्पनीहरुले हालको वार्षिक ब्याजदरलाई परिमार्जन गरी १२ प्रतिशतसम्म पुर्याएका छन् । यसअघि बीमालेख धितोमा राखी कम्पनीहरुले १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका थिए । बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ मा जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ ।

‘बीमकले बीमालेख अन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखी ऋण प्रदान गर्न सक्नेछ,’ बीमा प्राधिकरणद्धारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ मा उल्लेख छ ।

यसअघि बीमितिले २ किस्ता प्रिमियम तिरेपछि बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था थियो । निर्देशिकाअनुसार ऋणको रकम बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटीमा १ हजार रुपैयाँसम्म कायम गर्नुपर्ने छ ।

यस्तै, बीमकले बीमालेख धितो राखी कर्जा प्रदान गर्दा ब्याज लिन सक्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । तर, ब्याजदरको निर्धारण गर्दा बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदर भन्दा बढी नहुने गरी बीमकको सञ्चालक समितिको स्वीकृति लिई निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

‘बीमकले बीमालेख धितो राखी कर्जा प्रदान गर्दा ब्याज लिन सक्नेछ र ब्याजदरको निर्धारण गर्दा बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदर भन्दा बढी नहुने गरी बीमकको सञ्चालक समितिको स्वीकृत लिई निर्धारण गर्नुपर्ने छ,’ निर्देशिका भनिएको छ ।