Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्याजदर घटाउन राष्ट्र बैंकले पहल गर्नुपर्छः डा. स्वर्णिम वाग्ले

२०७९ कार्तिक २७ गते

बैंकिङ खबर/राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले अहिलेसम्म देखिएका र भइरहेका नेतृत्वले मुलुकमा ‘म्यासिभ रिफर्म’ गर्न नसक्ने बताउनुभएको छ । विराटनगरमा शनिबार साँझ मोरङ व्यापार संघ र नेपाली कांग्रेस विराटनगर महानगर समितिले गरेको छुट्टाछुट्टै कार्यक्रममा अर्थशास्त्री डा. वाग्लेले यसका लागि सुझबुझपूर्ण नेतृत्वका साथमा बुझेका अर्थमन्त्री र गभर्नर चाहिने बताउनुभयो । अहिले नेपालमा भ्रष्टाचार होइन त्यसभन्दा पनि माथि उठेर दिनदहाडै लुट भइरहेको उहाँको भनाइ छ । उहाँले अहिले नेतृत्वमा रहेका राजनीतिक शक्तिहरू सुध्रिएनन् भने नयाँ शक्तिहरू जन्मिएर विष्फोटक रूप लिनसक्ने बताउनुभयो । उहाँले नेपाल श्रीलङ्काको हालतमा नपुग्ने दाबी गर्नुभयो ।

‘श्रीलङ्काको समस्या विदेशी विनिमयको अभावको थियो’, उहाँले भन्नुभयो ‘भाग्यवश, रेमिट्यान्सका कारणले हामीकहाँ त्यस्तो अवस्था छैन। अहिले पनि हामीसित ६–७ महिनालाई धान्नसक्ने विदेशी विनिमय छ। तर अर्को दुर्भाग्यको कुरा के भने श्रीलङ्कामा व्याप्त भएजस्तै भ्रष्टाचार र खराब शासनका प्रवृत्तिहरू नेपालमा व्याप्त छन्। हेलिकप्टर, सेक्युरिटी प्रेसदेखि कोभिड कालसम्मका अनेकौँ भ्रष्टाचारहरू हामीले देख्यौँ । यसको समाधानका लागि अहिलेको लोकतान्त्रिक पद्धतिमै सुधार गर्नु आवश्यक छ भन्ने मेरो ठहर छ ।’

डा. वाग्लेले भइरहेका कानुनले नै मुलुकको आर्थिक र व्यावसायिक विकासमा ठुलो व्यवधान उत्पन्न गरेको चर्चा गर्दै अहिले पनि महेन्द्रका पालाको २०१९ सालको वैदेशिक लगानी ऐनअनुसार काम गर्नुपर्ने स्थिति रहेको बताउनुभयो । डा. वाग्लेले करका दरमा वृद्धि गरेर राजस्व वृद्धि नहुने तर्क अघि सार्दै यसले अनधिकृत व्यापारलाई मलजल गर्ने स्पष्ट पार्नुभयो ।

डा. वाग्लेले १२ प्रतिशतले आर्थिक वृद्धिदर हुँदा ऋणप्रवाह २३ प्रतिशतले वृद्धि भएको तथ्यांक प्रस्तुत गर्दै यो ऋणको रकम रियलस्टेट र अत्यधिक आयातजस्ता अनुत्पादक क्षेत्रमा प्रयोग गरिएको बताउनुभयो ।

उहाँले विगतमा दोषपूर्ण तरिकाले ऋणप्रवाह गरिएकाले अहिलेको अवस्था उत्पन्न भएको टिप्पणी गर्नुभयो । ‘अहिलेको आर्थिक संकट र ब्याजवृद्धिको अवस्था कुनै न कुनै दिन आउनेवाला नै थियो’, डा. वाग्लेले भन्नुभयो ‘त्यसैले उल्लेखनीय परिमाणमा तत्काल ब्याजदर घटाउन नसकिएला तर खेल्ने ठाउँहरू धेरै छन् । राष्ट्र बैंकले यसमा पहल गर्नुपर्छ ।’

उहाँले २०४८ को गिरिजाप्रसाद कोइरालाको सरकारले सुरु गरेको आर्थिक सुधारले नै मुलुकले कोल्टे फेरेको विचार प्रकट गर्नुभयो । बितेका ५ वर्षमा मुलुकका शासनपद्धतिमा ठूला विकृतिले प्रश्रय पाएको आरोप उहाँले लगाउनुभयो । डा. वाग्लेले न्यायपालिकाले कार्यपालिकामा भाग मागेको, विधिको शासनको अन्त्य भएको तथा अख्तियार, निर्वाचन आयोग र राजस्व अनुसन्धान लगायतका निकायलाई ‘क्याप्चर’ गरिएको लगायतका ठुला विकृतिले देशलाई अन्धकारतिर लगेको बताउनुभयो ।

Ad