Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

८ वाणिज्य बैंकको लाभांश, कुनको कति ?

२०७९ कार्तिक २० गते

बैंकिङ खबर/ हालसम्म ८ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । सिटिजन्स बैंक, कुमारी बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू (बीओके), स्टयान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक र एभरेस्ट बैंकले लाभांश घोषणा गरेका हुन् ।

जसमा सिटिजन्सले प्रस्तावित लाभांश साधारणसभा बोलाएर पारित गरी आफ्ना सेयरधनीहरुको खातामा खातामा पठाइसकेको छ । यो बैंकले लगानीकर्तालाई गत वर्षको नाफाबाट ९ प्रतिशत नगद लाभांश दिएको थियो ।

कुमारीको वार्षिक साधारणसभा कात्तिक २१ गते नक्सालस्थित बैंकमा बिहान ११ बजेबाट हुँदैछ । बैंकले लगानीकर्ताका लागि चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश सभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

यस्तै एनसीसीको वार्षिक साधारणसभा पनि आउँदो मंसिर २ गते हुँदैछ। बैंकको सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट हुने बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) प्रस्ताव गरेको छ। सोही प्रस्तावित लाभांश सभाले पारित गर्नेछ ।

बैंक अफ काठमाण्डूले चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो बैंकले प्रस्तावित लाभांशमा चुक्तापुँजीको १४.९५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड २ लाख ८७ हजार ११३.७६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र ६ प्रतिशतले हुन आउने २ अर्ब २२ करोड ५७ लाख २६ हजार ७५८.० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्नेछ। वाणिज्य बैंकहरुमा हालसम्म घोषित लाभांशमा यो नै सबैभन्दा धेरै हो।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि हाल कायम चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ। १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८–७९ मा आफ्ना सेयरधनीलाई चुक्तापुँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँबराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ।

यस्तै सानिमा बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६.४० रुपैयाँको कुल १०.९८ प्रतिशतले हुन आउने १ अर्ब २४ करोड ३७ लाख ४६ हजार ३०.४४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख ३७ हजार ७३२.६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशतले हुन आउने ११ करोड १० लाख ८ हजार २९७.८० रुपैयाँबराबरको नगद लाभांश बाँड्ने छ।

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि चुक्तापुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) छन् ।