Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्याजदरविरुद्ध अर्थमन्त्री र गभर्नरलाई ध्यानाकर्षण पत्र बुझाइने

२०७९ कार्तिक १८ गते

बैंकिङ खबर/ ब्याजदर वृद्धिको विरोधमा उत्रिएका उद्योगी, व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने भएका छन् । ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरुले आज (शुक्रबार) देखि सडक आन्दोलन सुरु गरेका हुन ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीहरुले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रर्दशन गरेका हुन ।

उनीहरुले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरु मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य हुनु परेको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।

उहाँले स्वदेशी उद्योगी, व्यवसायीहरुलाई मारमा पार्ने काम बैंक तथा वित्तीय संस्थाहरुले गरेकाले मुलुकको अनधिकृत व्यापार फष्टयाएको समेत बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘एक अंकले बढि नहुने गरी व्याजदर कायम गर्न सरकारसँग माग गर्दछौं । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले लिलामी गर्न नीतिगत व्यवस्था पनि तत्कालका लागि खारेज गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाहरुको गम्भिर ध्यानाकर्षण गराउँदछौं । ६ महिना नपुग्दै बैंक तथा वित्तीय संस्थाहरुले दोब्बर ब्याजदर वृद्धि गरी आफूहरुलाई आतंकित बनाएकोमा हामी आजित छौं ।’