Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सहकारी सुधारका तीन सुत्र

२०७९ कार्तिक १६ गते

टोलराज उपाध्याय
उप–रजिष्ट्रार एवम् सूचना अधिकारी, सहकारी विभाग

सहकारीहरु आफ्ना सदस्य तथा समुदायप्रति केन्द्रित हुन्छन् । सदस्यहरुबाट नै नियन्त्रित हुने भएकाले सहकारीहरु स्वनियम र प्रजातान्त्रिक विधिबाट चल्नुपर्ने हुन्छ । पछिल्लो समय सहकारीहरुको संख्या वृद्धि भइरहेको छ । संख्या बढ्दा उनीहरुले गर्ने कारोबार रकम पनि बढेको छ । कारोबारमा वृद्धि हुँदा उनीहरुले आफ्ना उद्देश्यहरुलाई पनि फरक तवरबाट अगाडि बढाउन थालेका छन् । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न अथवा समस्या सृजना हुन नदिनका लागि केही विषयहरु छन् । जुन विषयहरुलाई तपाई हामीले अबलम्बन गर्न सकेमा यसलाई निराकरण गर्न सकिन्छ ।

सक्रिय सहभागिता

सहकारीका सञ्चालकहरु अत्याधिक महत्वकांक्षी बन्दा समस्या देखिन थालेको छ । त्यस्तो समस्या आउँन नदिनका लागि सहकारीका सदस्यहरुले केही विषयहरुलाई ध्यान दिन सक्नुपर्दछ । सहकारीका सेयर सहस्यहरुले संस्थाको नियमित बैठक र साधारण सभामा सक्रिय सहभागिता जनाउनुपर्दछ । त्यसो गर्नाले संस्थाका सम्पूर्ण गतिविधीहरुबारे जानकार भइन्छ । संस्थाका गतिविधिहरुबारे जानकारी राख्नु तपाईको अधिकार मात्र होइन, त्यसले तपाईलाई संस्थाप्रति उत्तरदायी पनि बनाउँछ ।

सञ्चालकहरु महत्वकांक्षी बन्नु हुँदैन

सहकारीका सञ्चालकहरु आफ्नो सिद्धान्त र समुदाय केन्द्रित भएर काम गर्नुपर्ने हुन्छ । सञ्चालक तथा व्यवस्थापकको भूमिका महत्वकांक्षी बन्दा अथवा उनीहरुले सहकारीको नीतिभन्दा बाहिरको ट्रयाकबाट यात्रा तय गर्दा सहकारीमा समस्या देखिन्छ ।

सहकारीका सञ्चालक र व्यवस्थापकले सहकारीको सिद्धन्तभित्र रहेर समुदाय केन्द्रित र उद्देश्य केन्द्रित काम गर्नु पर्दछ । यसले गर्दा संस्थालाई अगाडि बढाउन सजिलो हुन्छ । महत्वकांक्षी र चाँडै धनी बन्ने सपनाले संस्थामा आँच आउन सक्दछ ।

नियमनमा कडाई

सहकारी विभागले समयसमयमा निर्देशनहरु जारी गर्दछ । ती निर्देशनहरुलाई सहकारीले अबलम्बन गरेर अगाडि बढ्नुपर्दछ । विभागले तयार पारेको कोपोमीस सिस्टममा सहकारीका तथ्याङ्क ल्याउने, त्यसको विश्लेषण गर्ने र मार्ग देखाउने काम गर्दछ ।

त्यसको पनि सहकारीहरुले कार्यान्वयन गर्नुपर्दछ । साथै उजुरी गुनासोका आधारमा सघन अनुगमन गर्ने र निर्देशन दिने विभागले गर्ने गरेको छ । दिएको निर्देशन अनुसारको कार्यप्रगतिको बारेमा जानकारी लिने काम विभागले गरिरहेको हुन्छ ।