
बैंकिङ खबर/ बैंकको ब्याजदरविरुद्ध देशभर आन्दोलन शुरु भएको छ । ब्याजदरका विषयमा बैंकर तथा राष्ट्रबैंकका अधिकारीहरुले आ–आफ्नै खालका तर्कवितर्क गरिरहेका छन् । उद्योगी व्यवसायीको आन्दोलन थप चर्किन थालेपछि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आइतबार निजी क्षेत्रका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार ब्याजदर वृद्धिका विषयमा आफूहरुले उठाइरहेको मागको विषयमा छलफल गर्न गर्भनर अधिकारीले आईतबार दिउँसो २ बजे बोलाउनुभएको बताउनुभयो ।
गभर्नरले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका अध्यक्षहरुलवाई बोलाउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले केही दिनअघि राष्ट्रबैंकका डेपुुटी गभर्नर निलम ढुुङगानालाई भेटेर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको थियो । तर, सो बेला गभर्नर विदेश जानुभएको थियो ।
डेपुटी गभर्नरबाट समस्या समाधानका लागि पहल गर्ने आश्वासन आए पनि सो विषयमा थप प्रगति नभएपछि निजी क्षेत्र र गभर्नरबीच छलफल हुन लागेको हो । यसअघि बिहीबार अर्थ मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा ब्याजदरका विषयमा केही गर्न नसकिने तर्कपछि उद्योगी र सरकारका प्रतिनिधिबीच चर्काचर्की नै भएको थियो।