
डा. चिरञ्जीवी नेपाल
पूर्व गभर्नर, नेपाल राष्ट्र बैंक
ब्याजदर घटाउन भन्दै वित्तीय सेवा नै अवरोध गर्ने कार्य अराजक हो । कोभिडको महामारी सुरू हुनुअघि पनि ब्याजदर वृद्धि भएको हो । यस समयमा पनि मधेश प्रदेशका मन्त्रीसहितले राष्ट्र बैंकको कार्यलयमा धर्ना दिएका थिए ।
विगतमा पनि ‘ब्याजदर बढी भयो’ भन्दै मलाई ३ पटक प्रधानमन्त्रीकोमा उभ्याइयो । त्यतिबेला राष्ट्र बैंकको गेटमा धर्नादेखि विराटनगर कार्यालय घेराउ भएका थिए । मुख्यमन्त्री तथा मन्त्रीले नै राष्ट्र बैंकको जनकपुर कार्यलयमा उक्त कार्यालय प्रदेश सरकार माताहत हुनुपर्ने भन्दै धर्नामा बसे । त्यतिबेला सरकारको तर्फबाट कुनै सहयोग भएन ।
मैले नै जोखिम मोलेर त्यहाँको सुरक्षामा खटिएका नेपाली सेनाको क्याप्टेनलाई ‘राष्ट्र बैंकको ढुकुटीको सुरक्षाको लागि आवश्यक कदम चाल्नुस्, त्यसको जिम्मा म लिन्छु भनेको थिए । उनीहरु पछि हटे ।
सरकारले हस्तक्षेप गर्नुपर्ने र गर्ने भन्ने कुरा नै गलत हो । यो बजारले निर्धारण गर्नुपर्ने हुन्छ । ब्याजदर बजारले निर्धारण गर्ने हो । बीचमा हाम्रो बानी बिग्रियो । यति प्रतिशत ब्याजदर कायम गर्नुस् भनेर राष्ट्र बैंकले लिखित निर्देशन दिने कार्य गलत भयो भनेर हामीले त्यसबेला पनि भनेका थियौं । म गभर्नर हुँदा जति दबाब आएपनि ब्याजदर नबढाउनुस् भनेर मौखिक रुपमा मात्रै बैंकहरुलाई भनेको थिएँ ।
सो समयमा सरकारले दवाब दिँदा समेत लिखित निर्देशन दिएनौं । अहिले राष्ट्र बैंकले लिखित निर्देशन दिने गरी दवाब दियो भने ब्याजदर नियन्त्रण हुँदो रहेछ भनेर व्यवसायीको मनोबल बढेको हो । मेरो पालामा नै ब्याजदरमा भद्र सहमति गर्ने भनेर सुरु भएको भएपनि त्यतिबेला मैले लिखित रुपमा निर्देशन दिइन् ।
सरकारले निर्णय गरेर १० किसिमको कर्जामा ब्याजदर तोकको छ, त्यो हुँदाहुँदै ब्याजदर बढी भयो भनेर जबरजस्ती बैंक बन्द गराउनु गलत हो । निजी क्षेत्रको जबरजस्ती देखियो यो राम्रो भएन, केन्द्रीय बैंकलाई सरकारले सहयोग गरेर बैंक खुलाउनुपर्छ ।




