
बैंकिङ खबर/ बीमा कम्पनीहरुले बीमा लेखधितो कर्जाको ब्याजदर बढाएका छन् । बीमितले बीमा कम्पनीबाट सस्तो व्याजदरमा बीमालेख धितोकर्जा लिएर बैंकमा जम्मा गर्न थालेपछि कम्पनीहरुले ब्याजदर २० प्रतिशत विन्दुले बढाएका हुन् ।
वाणिज्य बैंकहरुले नै मुद्दती निक्षेपमा १४/१५ प्रतिशत ब्याज दिन थालेपछि बीमा कम्पनीहरुले पनि प्रचलित ब्याजदरलाई समायोजन गर्न बढाएका हुन् । जीवन बीमक संघले निर्णय नै गरेर ब्याजदर बढाएको हो ।
संघले यस भन्दा अगाडी बीमालेख धितो कर्जाको व्याजदर १० प्रतिशत तोकेका थियो । पछिल्लो निर्णय पछि ब्याजदरको सिमा १२ प्रतिशत पुर्याएका छन् । बीमालेख धितो कर्जाबाट आर्जन हुने ब्याज आम्दानी बीमितकै कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।
यस्तो व्याज आम्दानीलाई बीमा कम्पनीहरुले मुनाफा प्रयोजनका लागि गणना गर्न पाउँदैनन् । यसले गर्दा ब्याजदर बढ्दा ऋणीहरुलाई भार परे पनि बीमितहरुका लागि भने लाभप्रद नै मानिन्छ ।
हाल बीमा कम्पनीहरुले बीमितहरुलाई ६० अर्ब भन्दा माथि बीमालेख धितोकर्जा प्रवाह गरेका छन् । कम्पनीहरुले यस्तो कर्जा प्रवाह गरेर ६ अर्ब भन्दा माथि आर्जन गर्दै आएका छन् ।




