Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लागतको आधारमा ब्याजदर निर्धारण गर्ने सिस्टम हुनुपर्छ : प्रकाशराज शर्मा

२०७९ आश्विन ३१ गते


प्रकाशराज शर्मा

अध्यक्ष,नेपाल लघुवित्त बैंकर्स संघ

विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको ब्याजदर नै १३ प्रतिशत जति पुगेपछि कर्जाको ब्याजदर स्वभाविक रुपमा त्यो भन्दा चर्को भएको छ ।

गत वर्ष ७/८ प्रतिशतमा पाइने ऋणको ब्याजदर केही समय अघिदेखि नै१५ प्रतिशत भन्दा माथि पुगिसकेको छ । असोज १ गतेदेखि मुद्दती निक्षेपको ब्याजदरमा भएको वृद्धिले बैंकहरुको आधार दर (Base rate) मा पनि वृद्धि हुने निश्चित छ, जसले गर्दा कर्जाको ब्याजदर अझ वृद्धि भई १७/१८ प्रतिशतसम्म पुग्नेछ । कतिपय बैंकहरुले अहिले पनि नयाँ कर्जा लिनेसँग १७/१८ प्रतिशत ब्याजदर लिन सुरु गरिसकेका छन् । बैंकहरुमा एकाएक ब्याजदर ह्वातै बढ्दा यसको असर लघुवित्त क्षेत्रमा समेत परेको छ ।

यसैबीच बैंकहरुको व्याजदर वृद्धिले लघुवित्त क्षेत्रमा के कस्तो असर परेको छ ? भन्ने विषयमा केन्द्रित रहेर नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष एवम् लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सिईओ प्रकाशराज शर्मासँग  कुराकानी गरिएको छ । प्रस्तुत छ सिईओ शर्मासँग गरिएको कुराकानीको सम्पादित अंशः

बैंकहरुमा ब्याजदर बढेपछि लघुवित्त क्षेत्रमा यसको प्रभाव के कस्तो रहेको छ ?

बैंकहरुमा ब्याजदर बढेपछि लघुवित्त क्षेत्रमा बेहालको अवस्था सिर्जना भएको छ । लघुवित्त वित्तीय संस्थाहरुले बैंकहरुसँग कर्जा लिएर आफनो सदस्यहरुलाई कर्जा लगानी गर्दछन । हाल यस्तो कर्जा लिंदा १५ प्रतिशत भन्दा बढी व्याजदर लाग्ने गरेको छ । १५ प्रतिशत भन्दा बढीमा कर्जा लिएतापनि हामीले हाम्रा ग्राहक सदस्य सँग १५ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैनौं । किनभने लघुवित्त संस्थाहरुले लिने व्याजदरमा नेपाल राष्ट्र बैंकले १५ प्रतिशतको सीमा तोकेको छ ।

त्यसैले अहिले लघुवित्त संस्थाहरुले घाटाको कारोबार गरिरहनु परेको स्थिति छ । यस्तो स्थिति कायम रहिरहे धेरै लघुवित्त संस्थाहरु समस्यामा पर्ने निश्चित छ । नेपाल लघुवित्त बैंकर्स संघले पटकपटक भनिरहेको कुरा के हो भने लघुवित्तहरुको ब्याजदरको सीमा नै समस्याको कारण भएकोले लघुवित्त संस्थाहरुको व्याजदर निर्धारण पनि अरु बैंक जस्तै आधार दरमा आधारीत हुने व्यवस्था हुनु प¥यो । यो व्यवस्था लागु भयो भने हामीले महंगो व्याजदरमा कर्जा पायौ भने हाम्रो कर्जाको व्याजदर पनि बढ्नेछ भने सस्तो व्याजदरमा कर्जा पायौं भने हाम्रो कर्जाको व्याजदर पनि सस्तो हुनेछ । तर अनुरोध हालसम्म पनि सम्बोधन हुन सकेको छैन ।

आ.व.२०७९।८० को मौद्रिक नीतिले बैंकहरुले विपन्न वर्ग कर्जा अन्तरगत कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने व्यवस्था ग¥यो, तर लघुवित्त संस्थाहरुले यो सुविधा पूर्ण उपभोेग गर्न पाएका छैनन किन भने यो व्यवस्था नयाँ कर्जाको लागि र विपन्न वर्गमा अनिवार्य लगानी गर्नुपर्ने कर्जा सीमासम्मको लागि मात्र हो भनिएको छ ।

बैकहरुले विपन्न वर्गमा अनिवार्य लगानी गर्नुपर्ने कर्जा सिमाभन्दा बढी लगानी गरिसकेकोले नयाँ कर्जा लगानी गर्दा समेत आधार दरमा ५, ६ प्रतिशत प्रिमियम तिर्नुपर्ने अवस्था छ । अहिले बैंकहरुको वेश रेट औसतमा १० प्रतिशत जति रहेको छ । त्यसमा ५ प्रतिशत प्रिमियम लगायो भने व्याजदर १५ प्रतिशत हुन्छ । १५ प्रतिशत ब्याजदरमा लघुवित्तहरुले कर्जा लिँदा १५ प्रतिशत भन्दा बढी लगानी गर्न पाउँदैन ।

कर्जाको व्याज खर्च बाहेक हामीहरुले कर्मचारी, सदस्यरुको निक्षेपमा व्याज, प्रशासनिक, लोन लस रिजर्भ खर्च आदिमा खर्च गछौँ । त्यसैले अहिले लघुवित्तहरुले घाटाको बिजनेश गरिरहनुपरेको अवस्था छ । लघुवित्तले विपन्न वर्गहरुसँग काम गर्ने हो । संस्थालाई जतिसुकै घाटा भए पनि सेवा दिनैपर्छ तर यस्तो कारोबार लामो समयसम्म टिक्न सक्दैन ।

बैंकहरुमा ब्याजदर बढेपछि लघुवित्त क्षेत्रमा ब्याजदर वृद्विको सम्भावना के कस्तो रहेको छ ?

वास्तवमा अहिलेको खुला अर्थतन्त्रको समयमा ब्याजदर बजारमै छोडिदिनु पर्छ भन्ने सर्वव्यापी मान्यता हो । अहिलेको क , ख र ग वर्गका बैंकहरुलाई बेश रेटमा रिस्क प्रिमियम जोडेर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था रहेकोछ । यस्तै व्यवस्था लघुवित्त संस्थाहरुले पनि माग गर्दै आइरहेको छन ।

लघुवित्तहरुको माग के हो भने वेश रेट जति छ त्यसमा केही प्रतिशत प्रिमियम जोडेर लिन पाउने व्यवस्था हुनुपर्छ भनेर राष्ट्र बैंकलाई पटक पटक भनिरहेको अवस्था छ । यस्तो भएन भने लघुवित्तलाई ठूलो समस्या आइपर्दछ । हामीमा समस्या आयो भने यसको असर नेपालको समग्र अर्थतन्त्रमा पर्न जानेछ ।

किनकी अहिले पनि लघुवित्त संस्थाहरुले कर्जा बजारमा ठूलो हिस्सा लिइसकेको अवस्था छ । वाणिज्य बैंकहरुबाट पनि ठूलो मात्रामा कर्जा लिएको अवस्था छ । लाखौं मानिसहरुको बचत छ । त्यसैले दिगोपना हुने गरी जानुपर्छ । ब्याजदरलाई मार्केटमा छोडिदिएर लागतको आधारमा ब्याजदर निर्धारण गर्ने सिस्टम बनाइदिनुपर्छ ।

हाल लघुवित्त क्षेत्रमा र विशेष गरी लक्ष्मी लघुवित्तमा तरलताको अवस्था के कस्तो रहेको छ ?

लघुवित्त संस्थाहरुको मूख्य स्रोत भनेको वाणिज्य बैंकहरुबाट प्राप्त हुने कर्जा सापटी हो । वाणिज्य बैंकहरुमा पनि तरलताको एकदमै समस्या रहेको छ । कर्जा नपाउने अवस्था रहेको छ । बैंकहरुमा कर्जा लगानी गर्नका लागि अहिले पैसा नै नभएको अवस्था छ । जति असुली हुन्छ, त्यसबाट अलिअलि लगानी गरेर कारोबार धानिरहेको अवस्था छ ।

लघुवित्तहरुले सीआरआर र लिक्विडिटी पनि मेनटेन गर्नुपर्छ त्यसकारण तरलताको समस्या छ बैंकहरुमा । जसले गर्दा नै ब्याजदरको समस्या भएको हो । पहिले वेश रेटभन्दा कममा पनि वाणिज्य बैंकहरुले कर्जा प्रवाह गरेका थिए । लक्ष्मी लघुवित्तमा मात्र नभई अहिले समग्र बैंक तथा वित्तीय संस्थाहरुमा नै तरलताको समस्या छ । दुईओटा लघुवित्तहरु निर्धन उत्थान र छिमेक लघुवित्तले केही भएपनि पब्लिक डिपोजिट लिइरहेको अवस्था छ । तिनीहरुमा तुलनात्मक हिसाबले कम होला नत्र अन्य सबै लघुवित्त संस्थामा यो समस्या छ ।

लघुवित्तले कर्जा प्रवाह गर्न सक्ने अवस्था कस्तो रहेको छ ?

लघुवित्तहरुमा स्रोतको अभाव रहेको छ । भएका सा्रेतहरु पनि एकदमै महँगो छ । जसले गर्दा कर्जाहरु पाउन एकदमै समस्या रहेको छ । अहिले लघुवित्तहरुले खासै कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् ।

लक्ष्मी लघुवित्तको शाखा सञ्जाल, पुँजीगत अवस्था र लगानीको अवस्था कस्तो छ ?

लक्ष्मी लघुवित्तले सेवा प्रवाह गर्दै आएको लगभग ११ वर्ष भइसकेको छ । लघुवित्त वित्तीय संस्थाहरुमा स्थापनाको समयमा २३ औं स्थानमा यस लघुवित्तको जन्म भएको हो । वि.सं.२०६७ सालमा यस लघुवित्तको दर्ता भएको थियो । अहिले देशको सातै प्रदेशमा ९० ओटा शाखामार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।

लक्ष्मी बैंकको सहायक कम्पनी हो लक्ष्मी लघुवित्त । साथै नेपालमा एउटा मात्र प्रमोटर भएको संस्था हो लक्ष्मी लघुवित्त । यसमा ७० प्रतिशत लक्ष्मी बैंकको रहेको छ र ३० प्रतिशत जनरल पब्लिकको रहेको छ । संस्थाको चुक्तापुँजी ३८ करोड रहेको छ । लगभग ८ अर्ब कर्जा लगानी, साढे २ अरव सदस्यहरुको बचत निक्षेप र ४ अरव ४४ करोड बैंकहरुलाइ तिर्नुपर्ने कर्जा सापटी रहेको छ । संस्थामा ४ सय १५ जना कर्मचारी कार्यरत रहेका छन् । अरुभन्दा फरक रुपमा संस्थाले सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आईसिटी टेक्नोलाजीलाई प्रयोग गरी बंैकहरुमा जस्तै संस्थाको मोबाइल बैंकिङ सुविधा रहेको छ । जसबाट इन्टर बैक रकम ट्रान्सफर गर्ने जस्ता काम गर्न सकिन्छ । सबै शाखाहरुमा ट्याबलेट बैंकिङको प्रयोग गरी कारोबार गर्दै आइरहेको छ । ग्राहकहरुलाई लक्ष्मी लघुवित्त स्मार्ट भन्ने एप बिना शुल्क डाउनलोड गरेर एन्ड्रोइडबाट आफ्नो पासबुक तथा ब्यालेन्स जानकारी हेर्ने सुविधा पनि सञ्चालनमा रहेको छ ।

लक्ष्मी लघुवित्त पहिला इ-सेवामा आबद्व थियो । त्यसपछि कनेक्ट आईपीएसमा आबद्व र अहिले खल्ती डिजिटल वालेटमा पनि आबद्व भइसकेको छ । संस्थाले ग्राहकहरुलाई टेक्नोलोजीमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।