
बैंकिङ खबर/ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताउनुभएको छ।
बैंक तथा वित्तिय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लले बताउनुभयो ।
उद्योग व्यापार संगठन रुपन्देहीको १५औं वार्षिक साधारणसभामा अध्यक्ष मल्लले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पुर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महङ्गीले जनतामा समेत असर गरेको बताउनुभयो । कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन युद्धले थप प्रभावित बनाएको अध्यक्ष मल्लले बताउनुभयो ।
हाल विद्यमान स्प्रेड दरलाई ४.४ प्रतिशतबाट १ प्रतिशत घटाउने एवं बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरी कर्जाको आधारदरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा व्याजदर घट्ने अध्यक्ष मल्लको भनाइ छ ।
स्थानीय प्रदेश तथा संघीय सरकार अन्र्तगतका निकायहरुको खातामा रहेको पुँजिगत खर्च हुन नसकेमा उक्त रकमको ९० देखि ९५ प्रतिशत रकमलाई वाणिज्य वैंक मार्फत कर्जा प्रवाह गर्ने व्यवस्था भए यसले तरलतामा वृद्धि हुने अध्यक्ष मल्लले बताउनुभयो ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधी बढाउनुपर्ने भएपनि बढ्दो व्याजदरका कारण अर्थतन्त्र नै धरासायी हुने अवस्था सिर्जना भएको अध्यक्ष मल्लको भनाइ छ । अध्यक्ष मल्लले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लगायत तेस्रो मुलुकमा नियमित हवाई उडान गर्नका लागि उचित पहल गरिनुपर्नेमा जोड दिनुभयो ।




