Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालले आठगुणा बढी निर्यात गर्न सक्ने सम्भावना छः विश्व बैंक

२०७९ आश्विन १४ गते

बैंकिङ खबर/ नेपालले हालको भन्दा आठगुणा बढी निर्यात गर्न सक्ने सम्भावना गुमाइरहेको एक अध्ययनले देखाएको छ। विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनले अध्ययनमा समावेश झन्डै ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले अझै सम्भावना रहेको प्रस्तुति गरेका गर्नुभएको थियो । यसलाई गत आर्थिक वर्षको निर्यातसँग तुलना गर्ने हो भने आठ गुणा बढी सम्भावना देखिएको छ। व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ।

नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अतिकम विकसित मुलुक क्याम्बोडिया, लाओसजस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको सम्भावना रहेको बताउनुभयो ।

उनका अनुसार एउटै खालको भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा लगभग आधा कृषि उत्पादनहरू, आधा कपडा र बाँकी थोरै अंश, केही खनिज र अन्य उत्पादनहरू थिए तर सन् २०१९ कोभिड पूर्व ठूलो परिवर्तनका साथ निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुुहरू, विद्युतीय ऊर्जा थप्न सफल भयो। जसले लाओको अर्थतन्त्रलाई निकै माथि लान सफलता मिल्यो।

‘सोही समयमा नेपाललाई हेर्दा कपडा निर्यात पहिलो नम्बरमा थियो, तत्पश्चात् कृषि र अन्य रसायनमा आधारित वस्तु थिए। त्यसको २० वर्ष पछिसम्म पनि नेपालको निर्यातयोग्य वस्तु विविधीकरण हुन सकेनन्। धेरै कृषि, थोरै कपडा, तर ती दुई समूहले नै निर्यातमा वर्चस्व राखेको पाइयो’, अर्थशास्त्री गोन्जालोले भन्नुभयो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरूपी एउटा मात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवर्द्धनमा काम गर्नुपर्ने बताउनुभयो ।

उद्योग सचिव डा. तोयानारायण ज्ञवालीले मुलुकभित्र भित्रिएको विप्रेषण हामीले देशभित्रै बचाएर राख्न नसकेको यथार्थता राख्दै यसका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।