September 28th, 2022

शाखा अधिकृतको तलब पर्याप्त भएन, एक लाख हुनुपर्छः अर्थमन्त्री

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताउनुभएको छ । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको उहाँको भनाइ छ ।

सरकारले चालु आर्थिक बर्षका लागि सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । तर, यो अपर्याप्त रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले भन्नुभयो ‘अन्त हैन आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ ।’

सरकारी कर्मचारीलाई पर्याप्त तलब दिन उत्पादन वृद्धि गर्नुपर्ने, मुलुकको आम्दानी बढाउनुपर्ने उहाँको भनाइ छ । राजश्व आम्दानी बढाउनुको विकल्प नभएको भन्दै अर्थमन्त्री शर्माले राजश्व क्षेत्रमा काम गर्नेहरुको जिम्मेवारी फरक र महत्वपूर्ण रहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले विदेशी मुद्रा सञ्चिती बढाउन विदेशी रक्सी रोक्नुपर्ने बताउनुभयो । विदेशी रक्सी आयात रोक्ने काममा मुख्य रुपमा राजश्व कार्यालयको भूमिका रहने पनि मन्त्री शर्माले बताउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]