September 25th, 2022

१० अर्बको बाहिरियो नयाँ नोट

बैंकिङ खबर/ दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकबाट करिब १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बाहिरिएको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणले गरेर उक्त रकम बराबरको नयाँ नोट सटही भएको राष्ट्र बैंकले बताएको छ ।

जसअनुसार शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाले साढे ७ अर्ब र सर्वसाधारणले साढे २ अर्ब रुपैयाँ गरी कुल १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले गत भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको छ । राष्ट्र बैंक बाहेक अरु बैंक तथा वित्तीय संस्थाले पनि आफ्ना ग्राहकलाई नयाँ नोट सटही सुविधा दिइरहेको छ ।

गत वर्षजस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाएका छन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एक(एकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।

चालु आर्थिक वर्षभर नै राष्ट्र बैंकले आफ्नो कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउन थालेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]