
बैंकिङ खबर/ वाणिज्य बैंकका सहायक कम्पनीले शेयर कारोबारको लागि ब्रोकर लाइसेन्स लिन पूँजी बढाउन थालेका छन्। कम्पनीहरुले पूँजी बृद्धि गर्न साधारणसभा आह्वान गर्न थालेका हुन्।
आइतबार मात्रै ३ बैंकका सहायक कम्पनीले पूँजी बृद्धि गर्ने गरी विशेष साधारणसभा बोलाएका छन्। यस दिन कुमारी सेक्युरिटिज, मेगा स्टक मार्केट र एनआइसी एशिया सेक्युरिटिजले पूँजी बृद्धि गर्नको लागि विशेष साधारणसभा आह्वान गरेका छन्।
कुमारी सेक्युरिटिजले २० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने विशेष प्रस्ताव राखेर असोज २४ गते विशेष साधारणसभा बोलाएको छ। उसले जारी पूँजी भने ६० करोड रुपैयाँ पुर्याएको छ। यसअघि कम्पनीको चुक्ता पूँजी २ करोड र जारी पूँजी १० करोड रुपैयाँ रहेको थियो।
यस्तै एनआइसी एशिया सेक्युरिटिज र मेगा स्टक मार्केटले असोज २३ गते नै पूँजी बृद्धि गर्ने प्रस्ताव राखेर साधारणसभा बोलाएका छन्। यी दुई कम्पनीले भने साधारणसभा सम्बन्धि सूचनामा पूँजी कति पुर्याउने खुलाएका छैनन्।



