Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आर्थिक समृद्धि, निर्यातमुखी कृषि र युवा स्वरोजगारबाटै मुलुकको विकास सम्भवः भगवती चौधरी

२०७९ भाद्र ३० गते

बैंकिङ खबर/ प्रतिनिधिसभा निर्वाचनका लागि एमाले सुनसरी क्षेत्र नं. ३ बाट सर्वसम्मत उम्मेद्वार बन्नुभएकी भगवती चौधरीले आर्थिक समृद्धि, युवा स्वरोजगार, व्यवसायिक कृषि योजना र स्थानीय विकासका आधारलाई आफ्नो चुनावी नारा रहेको बताउनुभएको छ ।

मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वार सिफारिस चौधरीले आर्थिक समृद्धि, निर्यातमुखी कृषि, युवा स्वरोजगारबाट नै मुलुकको विकास गर्न सकिने बताउनुभयो ।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री समेत रहनुभएकी चौधरीले राजधानीमा आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रियात्मक कार्यक्रममा सुनसरी क्षेत्र नं. ३ विकास र आर्थिक दृष्टिकोणले सबैभन्दा पछाडी परेको चर्चा गर्दै उक्त क्षेत्रको विकास र जनताको जीवनस्तर उकास्नकै लागि आफु राजनीतिमा होमिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिमा लागेर मैले कुनै व्यक्तिगत लाभ लिनु छैन, मेरो एकमात्र उद्देश्य भनेको त्यहाँका जनताको जीवनस्तर उकास्नु हो’ करिब तीन दशकदेखि समाजसेवा र महिला सशक्तिकरणका अभियान समेत सञ्चालन गर्दै आइरहनुभएकी चौधरीले भन्नुभयो । उहाँले सुनसरी ३ कृषि, पर्यटनका लागि अत्यन्त उर्वर क्षेत्र भएतापनि राज्यको नजर नपर्दा पछि परेको पनि बताउनुभयो ।

आधुनिक कृषि प्रणाली अवलम्बन गर्दै चक्लावन्दी गरी नगदेबाली लगाए उक्त क्षेत्रका जनताको जीवनस्तर सुधार हुने चौधरीले बताउनुभयो । ‘मुलुकलाई संमृद्ध बनाउने हो भने हाम्रो आयातमुखी कृषिलाई निर्यातमुखी बनाउन पर्छ । कृषि क्षेत्रको विकास गर्न सकेमात्रै सबै क्षेत्रको विकास हुन्छ ’ चौधरीले भन्नुभयो ।

सुनसरी क्षेत्र नं. ३ सँग जोडिएका क्षेत्र र जिल्लाका जनताको जीवनस्तर सुदृढ हुँदै जाँदा आफ्नो क्षेत्रका जनताहरु अझै ऋणमा पिल्सिइरहेको पनि बताउनुभयो ‘अन्य क्षेत्र र जिल्लाहरुको आर्थिक सूचकांक सवल हुँदा मेरो क्षेत्रको आर्थिक सूचकांक कमजोर हुनुको कारण राज्यको भूमिका कमजोर भएर हो । यो पल्टको निर्वाचनमा जितेपछि मेरो एउटै उद्देश्य आफ्ना क्षेत्रका जनताको जीवनस्तर उकास्ने रहनेछ ।’

चौधरीले यसपल्ट आफुले १० औं हजार भोटले चुनाब जित्ने दावी पनि गर्नुभयो । पछिल्लो समय युवाहरुले उठाएका सुशासन, आर्थिक उन्नती, स्वरोजगार, आत्मनिर्भरताका कुरा आफुले १० वर्ष अगाडी देखि उठाउँदै आएको बताउँदै चौधरीले योपल्ट सुनसरी ३ ले परिवर्तनका लागि आफुलाई भोट दिने दावी गर्नुभयो ।

नेकपा एमालेले ल्याएका स्वरोजगार, आत्मनिर्भरका एजेण्डाबाट नै मुलुकको विकास गर्न सकिने तर्क गर्दै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न पनि एमालेलाई पुनः सरकारका पठाउनु पर्ने चौधरीको भनाई थियो ।

चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुनुहुन्छ । २०६४ सालको पहिलो संविधान सभा सदस्य समेत रहेर झलनाथ खनालको नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण राज्यमन्त्री समेत भइसक्नुभएकी चौधरी लघुवित्त र महिला सशक्तिकरणको अभियानमा सक्रिय रहँदै आउनुभएको छ ।