
बैंकिङ खबर/ सरकारी वकिल कार्यालय काठमाडौंले एक अर्ब बढी जरिबाना माग गर्दै मुद्दा चलाएका ‘क्रिप्टो’ कारोबारी अमित श्रेष्ठ १५ लाख धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनको गत बिहीबारको आदेशअनुसार उनी धरौटी रकम बुझाएर आइतबार छुटेका हुन् ।
गत बिहीबार उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्ने आदेश गरेको थियो । तत्काल प्राप्त प्रमाणबाट थुनामा राख्नुनपर्ने देखिएको भन्दै धरौटीमा छाड्ने आदेश भएको उच्च अदालत पाटनका रिजस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
बिहीबार आदेश भएपछि थुनामै रहेका श्रेष्ठले आइतबार मात्र धरौटी रकम बुझाएका छन् । अदालतले उनको अन्त कतै मुद्दा छ वा छैन भनेर बुझ्ने काम जारी राखेकाले रिहाइ ढिला मात्र भएको हो ।
विशाल सिमेन्टका पूर्वसञचालकसमेत रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गत असार २९ गते पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान गर्न कार्यालयले जिल्ला परिसर काठमाडौंमा पठाएको थियो ।
श्रेष्ठबाट प्रहरीले दुईवटा मोबाइल र दुईवटा ल्यापटप बरामद गरेको थियो । बरामद गरिएका ग्याजेट प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा विश्लेषण गर्दा उनको विभिन्न विदेशी बैंकहरूमा करोडौं रकम रहेको खुलेको थियो । प्रहरीका अनुसार उनको अष्ट्रेलिया, क्यानडासहितका देशका बैंकमा खाता र रकम देखिएको छ ।
कलंकीमा र लाजिम्पाटमा रहेको जग्गा, पानीपोखरीमा रहेको अपार्टमेन्टसहित करिब ४८ करोडको सम्पत्ति देखिएपछि प्रहरीले जिल्ला न्यायाधिवक्ता कार्यालमा काठडौंमा प्रतिवेदन बुझाएको थियो । नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था अनुसार सम्पत्ति जफत गरी तीन गुणा जरिबाना माग गर्दै जिल्ला न्यायाधिवक्ताले चलाएको मुद्दामा श्रेष्ठलाई एक अर्ब ४४ करोड १४ लाख १७ हजार ६४४ सम्म जरिबाना गर्न माग गरिएको थियो ।