भारतको मुम्बईमा काम गर्ने कपिलवस्तु वाणगंगा ७ बदारीका ३४ वर्षीय ज्ञानराज पराजुली दसैँ मनाउन घर फर्किदै थिए । घर पुगेर परिवारसंग रमाइलोका साथ दसैँ मनाउला भनेर केही रकम जोह गरेर ल्याएका थिए । तर उनले त्यो रकम घरसम्म पुर्याउन पाएनन् । बाटामा भेटिएका केही अपरिचितले खाने कुरामा लठ्याउने औषधि खुवाएर उनको साथमा भएको १४ हजार भारतीय रुपैयाँ र साथमा भएको ३ थान मोबाईल लुटिदिए । ‘बसमा संगै आएका नचिनेका दुई जनाले एउटा अण्डा खान दिएका थिए’, पराजुलीले भने, ‘सुनौली नाकासम्म त म होसमै थिएँ तर बसबाट झरेलगत्तै के भयो थाहा पाइन । होशमा आउँदा मेरो साथमा भएको १४ हजार भारु र तीन वटा मोबाइल लुटेछन् ।’आफु लुटिएपछि उनले भैरहवास्थित इलाका प्रहरी कार्यालय बेलहियामा उजुरी दिएका छन् ।
पराजुलीजस्तै बाग्लुङ हटिया १ का रणध्वज अधिकारी पनि बाटामा लुटिए । सिमलामा रुखबाट स्याउ टिप्ने काम गर्ने उनी घर फर्कने क्रममा पराजुलीजस्तै गरी लुटिएका हुन् । घर आउने क्रममा बसको छेउकै सिटमा बसेको एक अपरिचितले दिएको बिस्कुट खाएपछि उनी बेहोश भएका रहेछन् । ‘विस्कुट खाएपछि मैले केही थाहा पाइन’, उनले भने, ‘होशमा आउँदा मेरो साथमा भएको ३५ हजार भारु, राहदानी र नागरिकता थिएन ।’
पराजुली र अधिकारी त प्रतिनिधि पात्रमात्रै हुन् । बसमा मात्रै नभएर सीमानामा कतिपय नेपालीहरु लुटिने गरेका छन् । दसैँमा घर आउँदा केही संयमता आफैले पनि नअपनाउँदा कतिपयको दसैँ खल्लो हुने गरेको छ । बाटामा आउने क्रममा अपरिचितले दिएको खानु र मदिरा सेवन गर्नु आफुसंग भएको सम्पतिको सबैभन्दा ठूलो असुरक्षा हो । त्यसैले त्यस्तो बेलामा बाटोमा वा यात्राका क्रममा सकभर अपरिचित व्यक्तिहरुले दिएको खानेकुरा नखाने र मदिरा सेवन नगर्ने हो भने पराजुली र अधिकारीजस्तै गरी लुटिनबाट जोगिन सकिने प्रहरीको भनाई छ ।



