
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादूर थापाले लघुवित्तबाट ऋण लिनेले पनि दुरुपयोग गरेको बताउनुभएको छ । निर्धन उत्थान लघुवित्तले मंगलबार आयोजना गरेको गरेको कार्यक्रममा उहाँले लघुवित्तको विकृति अन्त्य गर्न जोड दिनुभयो ।
डा.हरिहरदेव पन्तको सातौं वार्षिक पुण्य स्मृति दिवसका अवसरमा उहाँले डा. पन्तको सोचलाई बिचलन गर्ने काम गरिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘लघुवित्तबाट ऋणी सदस्यले लिएको कर्जा पनि सदुपयोग भएन। एक शीर्षकमा ऋण लिएर अर्को शीर्षकमा खर्च गर्ने विकृति देखिएको छ । यसैले यस्ता विकृति अन्त्य गर्नुपर्छ ।’
लघुवित्त वित्तीय संस्थाका सञ्चालकको लघुवित्त संघ नेपालका अध्यक्ष जगत पोखरेल डा.पन्तले लघुवित्तलाई दिएको योगदानको प्रशंसा गर्नुभयो । कतिपय लघुवित्तमा विचलनको समस्या रहेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुंगानाले लघुवित्त वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा सदुपयोग तथा दुरुपयोग भए नभएकाबारे नियमनमा जोड दिनुपर्ने बताउनुभयो । लघुवित्त संस्थाको कर्जा प्रवाह उत्पादनमूलक क्षेत्रमा गर्नैपर्ने उहाँको भनाइ छ। असार मसान्तसम्म मुलुकभर ६६ वटा लघुवित्तमार्फत कुल ५८ लाख ६८ हजार ऋणी सदस्य छन्। यसमध्ये ५६ लाख ५३ हजार मात्रै महिलाले कर्जा लिएर उद्यमशील बनेको उनले जानकारी दिइन्। डेपुटी गभर्नर डा. ढुंगानाका अनुसार उक्त ऋणीबाट असारसम्ममा ४ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको र वचत संकलन १ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ।
यस्तै निर्धन उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले उद्यमीहरूलाई कर्जा लिएपछि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न चेतना जगाइरहेको बताउनुभयो ।



