
बैंकिङ खबर/ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले बैंकको लाइसेन्स खुला हुनुपर्ने बताउनुभएको भएको छ। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले भने, ‘न्यूनतम पुँजी २० अर्ब रूपैयाँ राखेर हुन्छ, आवश्यक मापदण्ड बनाएर लाइसेन्स खुला गरिनुपर्छ, कुनै पनि क्षेत्रमा सिण्डिकेट राख्नु हुँदैन । राष्ट्र बैंकले बैंकिङ क्षेत्रको लाइसेन्स बन्द गरेको १३ वर्ष भएको छ ।’
नेपालको विकास कसरी हुँदैछ भनेर व्याख्या गर्ने क्रममा उहाँले आगामी पाँच वर्षभित्र आर्थिक उदारिकरण विस्तारित हुने र सबै क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य हुने बताउनुभयो ।
हरेक क्षेत्रमा लगानीकर्ताले चाहेमा नयाँ कम्पनी खोल्न र लगानीकर्ताले चाहेमा पुराना कम्पनी बन्द गर्न पाउने गरी सहज वातावरण बनाइदिनुपर्ने उहाँको भनाइ छ । अहिले बैंक, बीमा कम्पनी, सेयर ब्रोकर कम्पनी, मर्चेन्ट बैंकिङ, मेडिकल कलेज, कलेज, बोडिङ स्कूल, बचत तथा ऋण सहकारी संस्था, पेट्रोल पम्प, मदिरा उद्योग, चुरोट उद्योग, क्रसर उद्योग लगायत दर्जनौ क्षेत्रमा खोल्न सरकारले लाइसेन्स बन्द गरेको छ । सिण्डिकेटका कारण उद्योग, व्यापार, यातायात लगायत धेरै क्षेत्रमा समस्या रहेको उहाँले बताउनुभयो ।


