Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सहकारीमा बिग मर्जर : ७५८ करोडको नेशनल आइडल यमुना बन्दै

२०७९ भाद्र १२ गते

बैंकिङ खबर/ काठमाडौंमा सञ्चालनमा रहेका पाँच सहकारी एक आपसमा गाभिँने(मर्ज) हुने भएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच मर्जर सम्झौता भएको हो ।

आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण सम्झौता भएको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा एकीकरण सम्झौता भएको हो । एकीकरणपछि संस्थाको नाम नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था (प्रस्तावित) हुनेछ । आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुयाङ लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्था एकीकरण बारेमा जानकारी गराउनुभएको थियो ।

एकीकरणमा जाने संस्थाहरुले १ महिनाभित्र वार्षिक साधारण सभा गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारण सभा गर्ने अध्यक्ष कुयाङले जानकारी दिनुभयो । संस्था एकीकरणपछि संस्था थप बलियो हुने र आगामी दिनमा सदस्यहरुको साथ थप वृद्धि हुने अपेक्षा संस्थाले गरेको अध्यक्ष कुयाङले बताउनुभयो ।

एकीकरणपछि संस्थाको सेयर पुँजी ३० करोड ८१ लाख २२ हजार रुपैयाँ हुनेछ । सदस्य संख्या ३० हजार २० जना, ऋणी सदस्य ६ हजार ८ सय ५८ जना हुनेछ ।

त्यस्तै संस्थाको जगेडा कोषमा १४ करोड ६६ लाख, कर्जा जोखिम कोष १२ करोड ४२ लाख, कुल संस्थागत पुँजी १६ करोड ९४ लाख, अन्य कोषहरु २ करोड २७ लाख, कुल बचत ५ अर्ब ६३ करोड, लगानीमा रहेको ऋण ४ अर्ब २७ करोड, वित्तीय लगानी ४ करोड २७ लाख, तरलता रकम १ अर्ब ३८ करोड रहने नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयो ।

त्यस्तै संस्थाको कुल सम्पत्ती ७ अर्ब ५८ करोड र तरलता प्रतिशत २४.५७ प्रतिशत रहनेछ । एकीकरणपछि संस्थाको अध्यक्षमा ज्ञानबहादुर तामाङ र प्रमुख कार्यकारी अधिकृतमा कुयाङ लामा रहनुहुनेछ ।

Ad