Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न

२०७९ भाद्र ८ गते

बैंकिङ खबर/  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो।

कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले गर्नुभएको थियो । पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धिका विषयमा समीक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पराजुलीले चाल आव फाल्कन इयर २०७९–८० को र कम्पनीको कर्पोरेट भिडियोहरुको अनावरण गर्नुभयो । कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुईजना अभिकर्तालाई जनही एक लाखसहित विशेष सम्मान गरिएको थियो।

नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको बोस्टनमा सम्पन्न एमडीआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झन्डा फहराएकोमा सम्मान गरिएको छ।

कोभिडका कारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरुको सम्मेलन हुन सकिरहेको थिएन। कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सबैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो। यसरी सहभागी हुने २०५ जना अभिकर्तालाई सिल्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

उक्त समान्नितहरुमध्ये प्रत्येक वर्ष पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई नगदसहित सम्मान गरिएको थियो। प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई १ लाख ३५ हजार र तृतीय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियोे।

कार्यक्रमको उद्घाटनसत्र लगत्तै बैंकर तथा मोटिभेसन स्पिकर अनिल केशरी शाहले कार्यक्रममा उपस्थित सम्पूर्णमा मोटिभेसन प्रदान गरेका गर्नुभएको थियो । उहाँले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ–आफ्नो कामप्रति उत्साहित बनाएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुमध्ये मदन भट्ट, देवीप्रसाद जैसी र रक्षा महराले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरुमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो। जसमा विभिन्न खेलकुदका कार्यक्रम आयोजना भएको थियो।

उक्त कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल, वरिष्ठ सहायक महाप्रबन्धक ओमप्रकाश पुडासैनी, स्ट्राटेजी हेड अमित कयाल, कम्पनी सचिव विनोद भुजेल, प्रबन्धक सुनिता पोखरेल, जोन प्रमुख र रिजनल प्रमुखहरुको समेत उपस्थिति थियो।