Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ठूला सरेण्डर गर्नेलाई सम्पत्ती शुद्धीकरण अन्तर्गत अनुसन्धान

२०७९ भाद्र ३ गते

बैंकिङ खबर/ अब सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले ५० लाख भन्दा ठूला बीमा पोलिसीको सरेण्डर गर्ने अभिकर्ता तथा बीमितलाई अनुसन्धान गर्ने भएको छ । बीमा समितिले सम्पूर्ण बीमा कम्पनीहरुसँग ५० लाख भन्दा ठूला पोलिसीको सरेण्डर विवरण माग गरेको छ।

बीमा समितिले प्राप्त सूचनाका आधारमा शंका लागेका विवरणलाई नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईलाई जानकारी गराउनेछ । उक्त विवरणलाई वित्तीय जानकारी इकाईले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जानकारी गराउनेछ ।

वित्तीय जानकारी इकाईबाट विश्लेषणको निष्कर्ष सहितको जानकारी प्राप्त भएमा विभागको प्रमुखले त्यस्तो उजूरी वा सूचनाका सम्बन्धमा प्रारम्भिक जाँचबुझ गर्नेछ ।

प्रारम्भिक जाँचबुझ गराउन विभागको प्रमुखले त्यस्तो उजूरी वा जानकारीको प्रकृति हेरी उपयुक्त समय दिई मातहतको कुनै अधिकृतलाई खटाउनेछ ।

प्रारम्भिक जाँचबुझबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर भएको वा हुन सक्ने मनासिब आधार भई अनुसन्धान कार्य अगाडि बढाउनु पर्ने देखेमा विभागको प्रमुख आफैंले अनुसन्धान गर्न वा आवश्यकता अनुसार विभागको कुनै अधिकृत कर्मचारी, अन्य सरकारी अधिकृत कर्मचारी वा सार्वजनिक संस्थाको कुनै अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कबादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको आरोप लागेको वा कसूरमा संलग्न भएको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्तिलाई थुनामा राखेरै अनुसन्धान गर्नेछ ।