Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकमा मेसिनबाटै क्यास डिपोजिट, दंग सेवाग्राही(भिडियोसहित)

२०७९ श्रावण २५ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकको केन्द्रीय कार्यालय थापाथलीमा पुग्दा निकै भीडभाड थियो । बैंकिङ कारोबारको समय सकिनै लागेकाले पनि होला प्रायः सबै जनाको मुहारमा आफ्नो काम छिटोभन्दा छिटो सकाउनुपर्ने बाध्यता झल्की रहेको थियो । बैंकमा छिर्ने वित्तिकै बायाँ तिर क्यास रिसाइकल मेसिन थियो ।

त्यसैको छेउमा भेटिनुभयो, भावना महत । भावना महतको अफिस थापाथलीमै छ । उहाँलाई धेरै बैंकिङ कारोबार गर्नुपर्ने हुन्छ । त्यसका लागि बैंकमा एकै दिनमा पनि पटक–पटक पुग्ने गर्नुभएको छ । एनआईसी एशिया बैंकले क्यास रिसाइकल मेसिनमार्फत नगद जम्मा गर्न मिल्ने प्रविधि सञ्चालनमा ल्याएको धेरै भएको छैन ।

तर यो प्रविधिमा भावना पोख्त भइसक्नु भएको छ । उहाँ आफू मात्र होइन, बैंकमा आउने अन्य व्यक्तिहरुलाई पनि आवश्यक परेको खण्डमा क्यास जम्मा गर्नका लागि सहयोग गर्दै आउनुभएको छ ।

बैंकिङ खबरसँगको कुराकानीमा भावनाले आफूलाई काम गर्न निकै सहज भएको बताउनुभयो । यसले गर्दा समयको बचत मात्र नभएर भौचर भरेर लाइनमा बस्नुपर्ने बाध्यतासमेत टरेको उहाँको भनाइ छ ।

एनआईसी एशिया बैंकले मेसिनबाटै नगद जम्मा गर्न सकिने व्यवस्था गरेको धेरै भएको छैन । यो सेवामार्फत ग्राहकहरुले सहजरूपमा बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्ने छन् ।

मेसिनबाट एक हजार रुपैयाँ र पाँच सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने बताइएको छ । एकजना ग्राहकको खातामा एकपटकमा अधिकतम ९९ हजार ५ सय रुपैयाँ गरी दैनिक अधिकतम ९ लाख ९९ हजार ५ सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

सहज एवम् सरल बैंकिङलाई अंगाल्दै आएको बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्न सेवाग्राहीले उक्त मेसिनमा रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्ने बताइएको छ ।

उक्त ओटीपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुने बैंकले जनाएको छ । उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकले यो सेवा हाललाई केन्द्रीय कार्यालय र न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको छ । साथै निकट भविष्यमा देशका अन्य शाखाहरूमासमेत विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।बैंकको अहिले देशभर ३५९ वटा शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको छ ।

हेर्नुहोस् भिडियो

Ad