नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी बढाउनुपर्ने बाध्यकारी नीति ल्याएपछि अहिले बैंक तथा वित्तीय संस्थाहरु चुक्ता पुँजी बढाउन उद्यत छन् । त्यसका लागि कतिपय बैंक तथा वित्तीय संस्थाहरु मर्ज भईसकेका छन्, कति मर्जरको प्रक्रियामा छन् भने कतिपय एक्वीजिसनमार्फत् पुँजी बढाउने प्रयासमा रहेका छन् । यस क्रममा ८६ वटा संख्यामा रहेका विकास बैंकहरु ६५ वटामा सीमित भएका छन् । ३० वटा संख्यामा रहेका वाणिज्य बैंकहरु २८ वटामा सीमित भएका छन् । अन्य वित्तीय कम्पनीहरु पनि मर्जरमा गईरहेका छन् ।
यसैबीच विकास बैंकर्स संघले नेपालमा विकास बैंकहरुको संख्या ३० वटामा सीमित हुने प्रक्षेपण गरेको छ । संघका अध्यक्ष कृष्णराज लामिछानेले पुँजी वृद्धिका लागि विकास बैंकहरुले मर्जरलाई बढी प्राथमिकता दिइरहेकाले ३० वटामा झर्ने अनुमान रहेको बताए । ‘विकास बैंकहरु संख्याको रुपमा घट्दो छ’, उनले बैंकिङ खबरसंगको कुराकानीमा भने, ‘कुनै दिन ८६ वटा थिए भने अहिले ६५ वटा छन् । अझै घटेर ३० को हाराहारीमा पुग्ने हाम्रो अनुमान छ ।’ तीमध्ये राष्ट्रिय स्तरका २० र क्षेत्रीय स्तरका १० वटा संस्था बाँकी रहने उनको अड्कल छ ।
राष्ट्र बैंकको मर्जर नीति आएपछि पहिलोपटक २०६८ असार १ गते हिमचुली विकास बैंक र वीरगन्ज फाइनान्स गाभिएर एचएन्डबी डेभलपमेन्ट बैंकको नाममा कारोबार सुरु गरे । सोही वर्ष असार २६ गते इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र स्वस्तिक मर्चेन्ट बैंक गाभिए । त्यसयता त मर्जरको बाढी नै आयो । अहिलेसम्म २१ वटा विकास बैंक गाभिएका छन् । अझै दुई दर्जन विकास बैंकहरु मर्जरको पाइपलाईनमा रहेका बताइन्छ । कतिपय विकास बैंकहरुले अनौपचारिक रुपमा मर्जरको छलफललाई निरन्तरता दिएका छन् ।
संख्या घटेपनि अर्थतन्त्रमा विकास बैंकहरुको भूमिका अझै बढी हुने संघका अध्यक्ष लामिछानेले बताए । अहिले सम्म विकास बैंकहरुको कुल पुँजी ३० अर्ब छ, उनले भने, झण्डै ३ खर्ब निक्षेप छ । भोलि यो ६५ वटा बैंकवाट पनि ३० वटा भएमा २० वटा जति राष्ट्रिय स्तरका रहन्छन् । राष्ट्रियस्तरका हुने बित्तिकै ५० अर्ब पुँजी हुन्छ ।
उनले अरु १० वटा क्षेत्रीय स्तरका विकास बैंकको १० अर्ब पुँजी हुने बित्तीकै विकास बैंकहरुको पुँजी ६०/६२ अर्ब पुग्ने बताए । ‘पहिलो कुरा यसबाट ईक्यूटि लगानी हुन्छ’, लामिछानेले भने, ‘दोश्रो कुरा, २/३ खर्बको साईज बड्छ, ब्रान्च नेटवर्क बड्छ ।’ त्यसैले पनि विकास बैंकहरुको संख्या घटेपनि पुँजी, ब्रान्च नेट्वर्क, संख्या, र ग्रामीण पहुँचको हिसाबले राष्ट्रिय अर्थतन्त्रमा विकास बैंकहरुको भूमिका अझ सशक्त हुने उनको भनाई छ ।