
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालले सरकारको नीति र मौद्रिक नीति फरक–फरक भएको बताउनुभएको छ ।
राष्ट्रिय व्यापार संघले आयोजना गरेको ‘कर नीति, मौद्रिक नीति’ तथा वर्तमान आर्थिक अवस्थाको विषयमा छलफल कार्यक्रममा प्रमुख अतिथि पूर्व गभर्नर डा. नेपालले भने सो कुरा बताउनुभएको हो । उहाँले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले व्यापारी–व्यवसायीहरुलाई राहत देला जस्तो आफुलाई नलागेको पनि बताउनुभयो ।
राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थका लागि मुलुकलाई दुरगामी असर पर्ने कुरा विचार नगरि बोलिदिँदा आर्थिक अवस्थालाई कहिले काहीं गम्भीर असर पुर्याउने उहाँले बताउनुभयो । नीति–निर्माण गर्नेहरुले आफ्नो स्वार्थ हेर्न नहुने उहाँको भनाइ छ ।
कोभिड पछिको जनजीवन अहिले सामान्य जस्तो देखिए पनि आर्थिक अवस्था अप्ठ्यारो रहेको भन्दै पूर्व गभर्नर डा. नेपालले व्यापारी–व्यवसायीलाई सहज वातावरण बनाउन सरोकारवालाहरुसँग आग्रह गर्नुभयो । पर्यटन र अनुदान लगायतका कारणबाट राज्यको ढुकुटी बढ्दै जाने र आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज कुमार श्रेष्ठले व्यापारी–व्यवसायीका समस्या प्रति गम्भीर भइदिन राज्य पक्षलाई आग्रह गर्नुभयो ।

उपाध्यक्ष रामचन्द्र पराजुलीले बैंकहरुले नाकामा गरेको कडाइका कारण व्यापारी–व्यवसायीकाहरुलाई समस्या परेको बताउनुभयो । करदाता सेवा कार्यालय न्यूरोडका प्रमुख बिनोद लामिछानले नीतिहरुमा पुनरावलोकन हुनुपर्ने बताउँदै राजश्वको मूल आधार आन्तरिक स्रोत भएको चर्चा गर्नुभयो ।
राष्ट्रिय व्यापार संघका महासचिव बैकुण्ठ दाहालले जन्मेदेखि मृत्युसम्म कर तिर्नेहरुका लागि सहज वातावरण बनाउन आग्रह गर्नुभयो ।
