Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कसिलो मौद्रिक नीति आउँदै, के हो कसिलो मौद्रिक नीति ?

२०७९ श्रावण ६ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै छ । बैंकिङ क्षेत्रबाट जाने कर्जा नियन्त्रण गर्दै राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा कर्जा विस्तार नियन्त्रण गरेर जानुपर्ने बारेमा छलफल भएको छ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो मौद्रिक नीति जारी गर्नु हुने छ । उहाँले मौद्रिक नीतिबाट बजेटमा भएका उच्च आर्थिक वृद्धिको लक्ष्य आफ्नो प्राथमिकता नभएको, बाह्य क्षेत्र, मूल्य र वित्तीय स्थायित्वमा केन्द्रीत भएको जनाउ दिनु भएको छ ।
अहिले ल्याउन लागेको मौद्रिक नीतिका बारेमा गभर्नर अधिकारीले कठोर हुने संकेत गरिसक्नु भएको छ । गभर्नरले अनिवार्य तरलता अनुपात ३ प्रतिशतलाई ५ देखि ६ प्रतिशत पुर्‍याउने तयारी गर्नुभएको छ । स्थायी तरलता सुविधा पनि ८ देखि ९ प्रतिशत पुर्‍याउने उनको योजना छ।

गभर्नरले काउन्टर साइक्लिकल बफरलाई ब्यूँताउने छन्। यसले गर्दा ११ प्रतिशत पुँजी पर्याप्तता अनुपात राखिरहेका बैंकले साढे १३ प्रतिशतसम्म राख्नुपर्ने हुन्छ। यसले बैंकहरुको ऋण दिने क्षमतामा ठूलो ह्रास आउने छ।

गभर्नर अधिकारीले ऋण बिस्तारको लक्ष्य १९ प्रतिशतबाट झार्ने निर्णय गरेको एक सञ्चालकले जानकारी दिए। १५ः१६ प्रतिशतको हाराहारीमा ऋण बिस्तार लक्ष्य हुने छ।

के हो कसिलो मौद्रिक नीति ?

विभिन्न अर्थशास्त्री, बैंक विज्ञ तथा पूर्व गभर्नरहरूले समेत कसिलो मौद्रिक नीति ल्याउन सुझाव दिइ रहेका छन् । वास्तवमा बजारमा पैसा सप्लाईमा कडाइ गर्नु नै कसिलो मौद्रिक नीति भएको नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल बताउनुहुन्छ । कसिलो मौद्रिक नीति ल्याउँदा बजारमा पैसाको अभाव हुने स्थिति आउने उहाँको बुझाइ छ ।

यस्तै, सिडी रेसियो घटाएर, नेट एलडी रेसियो बढाएर, सीआरआर र एसएलआर बढाएर र सबैभन्दा महत्वपूर्ण विषय ब्याजदर बढाएर लगायतका मौद्रिक उपकरणहरू प्रयोग गरेर कसिलो मौद्रिक नीति बनाइने उहाँको भनाइ छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री भने व्यक्तिको खल्तिमा पैसाको अभाव हुने खालको नीति ल्याउनु नै कसिलो मौद्रिक नीति भएको बताउनुहुन्छ ।

 

 

 

Ad