July 21st, 2022

मर्जरमा बीमा कम्पनी : १९ कम्पनीले पाए बीमा समितिबाट सहमति

बैंकिङ खबर/ पछिल्लो समय बीमा कम्पनीहरूबीच धमाधम मर्जर तथा एक्विजिसन हुन थालेको छ । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै इन्स्योरेन्स कम्पनीहरुले मर्जरको बाटो अवलम्बन गर्न थालेका हुन् ।

बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिले बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिको दबाबमा छन् । समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो । समितिको नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ । समितिले बीमा कम्पनीहरूलाई हकप्रद निष्कासन गर्न बन्देज गरेको छ । हकप्रद सेयर निष्कासन गर्न बन्देज गरेका कारण कम्पनीहरूलाई बोनस सेयरबाट मात्रै पुँजी बढाउन कठिन छ ।

कम्पनीहरूले अहिले समितिसमक्ष पुँजी वृद्धिको योजना पनि पेश गरिसकेका छन् । कम्पनीहरूले पुँजी वृद्धिका लागि हकप्रद र मर्जर तथा प्राप्ति लगायत विकल्पहरू अगाडि सारेका छन् ।

बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी पुर्याउन पत्राचार गरिसकेको छ । कम्पनीहरूले एक वर्षभित्र पुँजी पुर्‍याइ सक्नुपर्नेछ ।

१९ कम्पनीलाई सहमति

१९ वटा बिमा कम्पनीहरू बीमा समितिबाट मर्जरका लागि सहमति पाएका छन् । नौवटा जीवन बीमा र १० वटा निर्जीवन बिमा कम्पनीलाई बीमा समितिले मर्जरका लागि सहमति दिएको हो ।

हिमालय र एभरेस्ट इन्स्योरेन्सले एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । बीमा समितिका हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सबीच मर्जरपछि हिमालयन एभरेस्टको नाममा कारोबार सुरु भइसकेको छ ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच पनि मर्जर हुने भएको छ । कम्पनीहरूले बीमा समितिका मर्जरका लागि सहमतिसमेत पाइसकेको समितिका प्रवक्ता राजुरमण पौडेलले बताए ।

सूर्या लाइफ इन्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच पनि मर्जरका लागि सम्झौता भसकेको छ । बीमा समितिले समेत सहमति दिइसकेको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले पनि मर्जरको सम्झौता गरिसकेका छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स पनि मर्जरको तयारीमा छन् । साथै, रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच पनि मर्जर हुने भएको छ । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले पनि मर्जरका लागि सहमति पाइसकेको छन् ।

साथै, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि बीमा समितिबाट मर्जरका लागि सहमति पाइसकेका छज् । प्रभु जनरल र अजोड इन्स्योरेन्सले पनि मर्जरको अनुमति पाएका छन् । त्यस्तै, युनाइटेड इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले मर्जरका लागि छलफल चलाइरहेका छन् । यी कम्पनीहरूको स्वाप रेसियो र नामका विषयमा सहमति जुट्न नसक्दा मर्जरबाट पछि हटेका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]