Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कस्तो मौद्रिक नीति चाहन्छन् व्यवसायीहरु ?

२०७९ श्रावण ५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अन्तिम तयारीमा  छ । शुक्रबार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दैछ। उक्त बैठकले पास गरेको खण्डमा दिउँसो नै मौद्रिक नीति सार्वजनिक गरिने तयारी गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको समेत भूमिकामा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार नै मौद्रिक नीतिको ब्रिफिङ गर्नुभएको छ । नेपाल राष्ट्र बैंकले गत जेठ महिनाबाटै मौद्रिक नीतिको विषयमा विभिन्न संघ, संस्था र सरोकारवाला व्यक्तिसँग सल्लाह सुझाव मागेको थियो । यतिबेला सबैको चासोको विषयमा मौद्रिक नीतिमा केन्द्रित रहेको छ । यसैबीच हामीले मौद्रिक नीतिमा कस्तो अपेक्षा गर्नुभएको छ भनेर केहि उद्योगी व्यवसायीसँग कुराकानी गरेका छौँ । 

व्यवसायीलाई सहज हुने खालको मौद्रिक नीति ल्याउनुपर्छः उपाध्यक्ष श्रेष्ठ

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ व्यावसायीहरुलाई आत्महत्या रोक्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने बताउँछन् । चर्को ब्याजदरका कारण व्यवसायीले लिएको कर्जाको ब्याज तिर्न नसकेर आत्महत्या गर्नेसम्मको स्थितिमा पुग्न लागेकाले त्यसलाई रोक्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

श्रेष्ठ भन्छन्, ‘बैंकले प्रिमियम बढाएको बढाएै छ, त्यसले गर्दा बैंकको ब्याजदर बढेर आकाश छुन लाग्यो, अब व्यवसायीले त्यो ब्याज तिर्न नसकेर आत्महत्या गर्ने स्थिति आउन सक्छ, त्यसलाई ध्यान पुर्याएर राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनुपर्छ ।’

व्यवसायीलाई बाँचेर खान पाउने खालको वातावरण बनाउने मौद्रिक नीति ल्याउन समेत उनको सुझाव छ । राष्ट्र बैंकलाई बैंक र निजी क्षेत्र दुवैलाई हेरेर मौद्रिक नीति बनाउन समेत श्रेष्ठले आग्रह गरे । ‘यो पटक निजी क्षेत्रलाई कस्ने खालको नीति आउने सुन्नमा आएको छ’ श्रेष्ठ भन्छन्, ‘हामी उद्योगी, व्यवसायीको यथार्थलाई बुझेर मौद्रिक नीति ल्याउनु पर्छ ।’

‘शेयर बजारको नीति ६/६ महिनामा बदल्ने परम्परा रोकियोस्’ : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल शेयर बजारको नीति स्थिर हुनुपर्ने बताउँछन् । शेयर बजारको नीति ६–६ महिनामा फेरिए बजार धरासायी बन्ने उनकोे भनाई छ ।

मल्ल भन्छन्, ‘यो वर्ष शेयर बजारको विषयमा आएको मौद्रिक नीति कम्तिमा ३–४ वर्ष सम्मको लागि लागु हुनुपर्छ, यदि त्यस्तो भयो भने मात्र लगानिकर्ताले ढुक्कसँग लगानी गर्न सक्छ ।’

मल्लले बैंकले आफुखुसी प्रिमियम बढाउन नपाउने नीति ल्याउन सुझाव दिएका छन् । ०.२५ प्रतिशत भएको प्रिमियम बढेर ६ प्रतिशतसम्म पुग्दा समेत राष्ट्र बैंकले कारबाहि गर्न नसकेकोमा उनकोे गुनासो छ ।

‘पहिले बैंकको प्रिमियर ०.२५ प्रतिशत थियो पोहोर सम्मपनि १.५ प्रतिशत थियो तर अहिले ५ प्रतिशत पुगेको छ ।’ मल्ल भन्छन्, ‘अब आउने मौद्रिक नीतिले यसरी बैंकले मनपरी ढंगले बढाउने प्रिमियमलाई सन्तुलनमा राख्ने खालको नीति बनोस् ।’

आयतलाई कम गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने उनकोे माग रहेको छ । सरकारले प्रत्यक वर्ष आयातलाई घटाउने भन्ने तर मौद्रिक नीति निर्यतलाई सहज पार्ने खालको नीति नआउने उनकोे भनाई छ ।

बजेटमा विदेशबाट रेमिटेन्स पठाउने नेपाली नागरिकलाई शेयर दिने नीति कार्यान्वयन हुनेमा मल्लले शंका गरेका छन् । तर त्यो राष्ट्र बैंकले र सरकारले चाहेमा लागु हुन सक्ने उनकोे भनाई छ ।

धेरै पैसा बैंकिङ क्षेत्रमा भन्दा घरमै थन्किएर बसेको हुनाले त्यो पैसालाई बैंकिङ क्षेत्रमा ल्याउने खालको मौद्रिक नीति ल्याउनुपर्नेमा मल्लले जोड दिएका छन् । उनी भन्छन्, ‘१०–२० हजार भन्दा बढीको रकम बैंकिङ प्रणलीबाट मात्र गर्ने खालको नीति ल्याउनुपर्छ, यो पटको मौद्रिक नीति बन्दा त्यस्तो बनोस् ।’

‘कृषिको ऋण सबै जग्गा कारोबारमा लगानी भयो’ : पूर्व उपाध्यक्ष श्रेष्ठ

उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेश लाल श्रेष्ठले कृषि क्षेत्रमा प्रभाव हुने ऋण घर–जग्गा कारोबारमा भएको बताउँछन् । अबको मौद्रिक नीतिले त्यसलाई नियन्त्रण गर्ने नीति राष्ट्र बैंकले ल्याउनुपर्ने उनको माग रहेको छ ।

उनी भन्छन्, ‘कृषि क्षेत्रमा जति ऋण प्रवाह भएको छ त्यो सबै घर–जग्गा कारोबारमा गएको छ, कृषिमा लगानी गरेको ऋणको निगरानी, अनुगमन गर्ने संंयन्त्र बनाएर त्यसलाई कडाई गर्नुपर्छ ।’

देशमा चलेका उद्योगी, व्यवसायीलाई उकास्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने श्रेष्ठको सुझाव छ । बैंकको प्रिमियम अत्याधिक बढ्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने खालको नीति ल्याउन समेत उनले आग्रह गरेका छन् । यदि प्रिमियम स्थिर नहुँदा व्यवसायीले बैंकको ब्याज तिर्न नसक्ने अवस्था आउने उनको भनाई छ ।

उद्योगीलाई २५–३० लाख ऋण विना धितो दिने व्यवस्था गर्नुपर्छ: अध्यक्ष कार्की

उद्योगी, व्यवसायीलाई विना धितो २५–३० लाख ऋण दिने मौद्रिक नीति ल्याउनुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की बताउँछन् । त्यसरी दिएको कर्जामा ब्याज समेत ३–४ प्रतिशत मात्र लगाएका उद्योगी व्यवसायी माथि उठन सक्ने उनको विश्वास छ ।
‘बैंकले बढी नाफा लिरहेको छ, त्यसलाई नियन्त्रण गर्नपर्छ, गत वर्ष ८ प्रतिशतमा लिएको ऋण अहिले १३ प्रतिशत ब्याज पुगिसकेको छ ।’ उनी भन्छन्, ‘यसरी उद्योगी, व्यवसायीले कहाँबाट उन्नती गर्छ, यसलाई मौद्रिक नीतिले नियन्त्रण गर्नुपर्छ ।’

आवश्यक बस्तु बाहेकका अत्यावश्यक बस्तुमा कडाई गर्नुपर्ने कार्कीको माग रहेको छ । ब्रस, मन्जन जस्ता बस्तुहरु आयात गर्नुपर्ने स्थिति नरहेकाले त्यस्ता आयातमा प्रतिवन्ध गर्नुपर्ने उनको भनाई छ । सरकारले भन्सार विभागसँग समन्वय गरेर त्यस्ता बस्तुलाई नियन्त्रण गर्नुपर्ने उनको माग रहेको छ ।

अहिले एलसीमा बैंक जमानी नबस्ने भएकाले पनि व्यवसायीलाई अप्ठ्यारो परेको कार्कीको भनाई छ । बाहिरबाट सामान ल्याउँदा पुरा पैसा तिर्नुपर्ने र त्यो पैसाको ३ महिनासम्म ब्याज नपाईने कारणले व्यवसायी मारमा परेको उनको भनाई छ । आउँदो मौद्रिक नीतिले त्यसलाई समाधान गरेर लग्नुपर्ने उनको माग छ ।

Ad