२०७९ श्रावण ४ गते

मौद्रिक नीतिमा वालेट कम्पनीका आशा र अपेक्षा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले यतिबेला चालू आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति ल्याउन लागेको हो । राष्ट्र बैंकलाई बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने चुनौती छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको अधिकांश सूचकहरु खस्किएको अवस्था छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, बढ्न नसकेको रेमिट्यान्स आप्रवाहलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ ।

यस्तो अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती समेत राष्ट्र बैंकलाई छ । राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सल्लाह र सुझाव मागेको थियो ।

यसैबीच आगामी मौद्रिक नीतिमा नेपालमा सञ्चालित मोबाइल वालेट कम्पनीले पनि विभिन्न आशा र अपेक्षा राखेका छन् । हाल नेपालमा करिब ३० वटा मोबाइल वालेट कम्पनी सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकले पनि डिजिटल कारोबारलाई प्रमोट गर्ने नीति लिएको छ ।

मौद्रिक नीतिले मोबाइल वालेटका क्षेत्रमा देखिएका कमीकमजोरी र समस्याहरुलाई सम्बोधन गर्ने खालको मौद्रिक नीति आउने अपेक्षा यो क्षेत्रको छ । यसैक्रममा हामीले केही मोबाइल वालेट कम्पनी सञ्चालकहरुको संक्षिप्त प्रतिक्रिाय लिएका छौं ।

‘काम गर्ने वातावरण बन्नुपर्‍यो’

बिक्की शाही, जनरल म्यानेजर, प्रभु पे

राष्ट्र बैंकले राम्रो पोलिसी निर्माण गर्नुपर्ने देखिन्छ । सञ्चालनका लागि अनुमति दिने तर काम गर्ने वातावरण नहुने अवस्था बन्नु भएन । लाईसेन्स दिए अनुसारको काम दिनुपर्‍यो। अहिले बैंकहरुले पनि हामीले गर्ने काम नै गरिराखेका छन् ।

बैंक, लघुवित्त, सहकारीहरुलाई जस्तै हाम्रो लागि पनि छु्ट्टै क्षेत्र निर्धारण गरिएको छ । तर, हाम्रो लागि निर्धारण गरिएको काम बैंकहरुले पनि गरिरहेका छन् । यस्ले गर्दा हामीलाई टिक्नको लागि नै समस्या भइरहेको छ । लाइसेन्स अनुसारकोम काम भएमा हामीलाई कुनै समस्या छैन । मौद्रिक नीतिले यस्ता विषयलाई समेट्न सकेमा राम्रो हुन्थ्यो ।

‘वालेटमा देखिएका समस्याहरु समाधान गर्नेतर्फ लाग्नुपर्छ’

राजु पौडेल, वरिष्ठ प्रबन्धक, आइएमई लिमिटेड

राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकतामा राखेको छ । त्यसलाई प्रवद्र्धन गर्नुे खालका नीति ल्याउनुपर्ने उसको दायित्व पनि हो । आगामी मौद्रिक नीतिमार्फत वालेटमा देखिएका समस्याहरु समाधान गर्नेतर्फ राष्ट्र बैंक लाग्नुपर्छ ।

अहिले मोबाइल वालेटमै रेमिट्यान्स आउने क्रम बढिरहेको छ । तर, केही प्रतिशत रकम अझैपनि हुण्डीमार्फत आउने गरेको छ । हुण्डी कारोबारलाई निरुत्साहित गर्ने नीति राष्ट्र बैंकले लिन सक्नुपर्छ । मौद्रिक नीतिले यस्ता कुरालाई समेट्न सके राम्रो हुन्थ्यो ।

‘ठूला वालेट बन्द हुन सक्छन्’

अमित अग्रवाल, सह-संस्थापक, खल्ती डिजिटल वालेट

राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रमोट गर्ने नीति लिएको छ । पब्लिकलाई डिजिटल प्रविधिमा ल्याउनका लागि अत्याधिक खर्च गर्नुपर्ने हुन्छ । त्यसको लागि वालेटहरुले निकै प्रभावकारी भूमिका खेलेका छन् । एक जना प्रयोगकर्तालाई डिजिटल प्रविधिमा ल्याउनका लागि ६-७ सय रुपैयाँ खर्च हुन्छ । अहिले वालेटहरुले खर्च धान्न सकिरहेका छैनन् ।

खर्च धान्न नसक्दा बन्द हुनुपर्ने अवस्था पनि आउन सक्छ । ठूला भनिएका वालेटहरु पनि बन्द हुन सक्ने अवस्था आउन सक्छ । बैंकहरुले पनि वालेटहरुले नै गर्ने काम गर्दा वालेट छुट्टै चल्न सक्ने अवस्था देखिँदैन । यसलाई सम्बोधन गर्नेगरि मौद्रिक नीति आएमा राम्रो हुन्यो । र मोबाइल वालेटहरुले निरन्तर रुपमा आफ्नो सेवा दिन पाउँथे ।