
किशोरी महतो
प्रमुख कार्यकारी अधिकृत(सीईओ)
समाज लघुवित्त वित्तीय संस्था लिमिटेड
लघुवित्त र मौद्रिक नीति
लघुवित्त कोषको उचित व्यवस्थापनमा मौद्रिक नीति केन्द्रित हुनु आवश्यक छ । अहिले फन्डको क्राइसिसको समस्या लघुवित्तले बेहोर्नुपरेको अवस्था छ । त्यस्तै लघुवित्त वित्तीय संस्थाहरुलाई यदि राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था यस मौद्रिक नीतिमा ल्याएमा लघुवित्त क्षेत्रमा राम्रो हुने थियो ।
गरिब तथा विपन्न वर्गका मानिसहरुको जीवनस्तर उकास्न सहयोग
लघुवित्तले गरिब तथा विपन्न वर्गका समुदायका मानिसहरुको जीवनस्तर उकास्न धेरै ठूलो सहयोग पुर्याएको छ । लघुवित्त वित्तीय संस्थाकै माध्यमबाट मानिसहरु आर्थिक तथा प्रशासनिक रुपमा साक्षर भएका छन् । हिजो आफ्ना कुराहरु भन्न डराउने महिला दिदीबहिनीहरु आज आफ्ना हक अधिकारका विषयमा लड्न सक्ने अवस्थामा छन् । यसरी आर्थिक, प्रशासनिक तथा नैतिक रुपमा उनीहरुलाई साक्षर गराउन लघुवित्त सफल भएको छ ।
लघुवित्त क्षेत्रका चुनौती तथा समस्याहरु
सबैभन्दा ठूलो चुनौती लघुवित्त आफैँले सिर्जना गरेको छ । त्यस्तै एउटा व्यक्तिले अरु सदस्यहरुको नामबाट कर्जा लिएर चलाइदिने गर्नाले पनि यस क्षेत्रमा समस्या भएको छ ।
ग्रामीण क्षेत्रमा काम गर्नुपर्ने, भौगोलिक चुनौती, बिना धितो कर्जा लगानी गर्नुपर्ने यसका चुनौती तथा समस्याहरु हुन् । लघुवित्त क्षेत्रको समस्याहरु समाधान गर्नका लािग विशेष गरी ग्राहकवर्गमा वित्तीय साक्षरताको आवश्यकता रहेको छ । वित्तीय साक्षरता भएमा लघुवित्त क्षेत्रको समस्या समाधान गर्न सहज हुन सक्छ ।
३८ करोड कर्जा लगानी गर्न सफल समाज लघुवित्त
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी पाँच ओटा शाखाहरुबाट ग्राहकलाई सेवा प¥ुर्याउँदै आएको छ । संस्थाको चुक्ता पुँजी दुई करोड रहेको छ ।
कर्मचारी संख्या ३३ जना रहेका छन् । उद्यमी सदस्य संख्या सात हजार दुई सय उनान्सत्तरी जना रहेका छन् । कर्जा लगानीको रकम ३८ करोड रहेको छ । विशेष गरी कृषि र व्यापारमा लघुवित्तले कर्जा लगानी गर्दै आएको छ । लगानी भएको मध्येमा सबै प्रतिशत सही सदुपयोग भएको छ । संस्थामा खराब कर्जाको अवस्था एक प्रतिशत भन्दा कम नै रहेको छ ।
(सीईओ महतोसँग गरिएको कुराकानीको सम्पादित अंश ।)




