विक्रम गौतम
६४ सालतिरको कुरा होला, बुटवल मिलन चोकको एउटा प्रख्यात ‘क’ श्रेणीको बैंकमा छिरेको थिए । बाबाले आफ्नो खातामा पैसा जम्मा गरिदिन पठाउनुभएको थियो । गर्मी मौसम थियो । भित्र छिर्ने वित्तिकै चिसो, आनन्दको आभास भएको थियो ।
उमेरले १६ लागेको थिए, ११ कक्षामा पढ्दै। त्यहि बेला कस्टुमर सर्भिसमा काम गर्ने एउटा दिदीले मिठो बोलीमा “हजुरको के थियो होला” भन्नुभयो । कस्तो राम्रो बोली खै किन त्यो दिन देखि त्यो दिदीको मुहार आजसम्म पनि याद भए जस्तो लाग्छ ।
क्यास काउन्टरमा पैसा जम्मा गर्ने एक जना पातलो दाई हुनुहुन्थ्यो । सेतो सर्ट हँसिलो मुहार अनि छिटो-छिटो पैसा गन्दै गरिरहेको हेरिराखे । कति ट्यालेन्ट होला ?, कति छिटो पैसा गनेको यो दाई त, कसरी यहाँ जागिर पाउनुभयो होला ?, मनमा यही खुल्दुली चलिरहेको थियो । आफ्नो काम सकेर घर गए । त्यो दिन देखि मलाई साह्रै रहर लाग्न लाग्यो बैंकको जागिर खान ।
त्यो दिनदेखि दिमागमा भुत चढिसकेको थियो । अनि रोजगारी अवसर खोजीखोजी हेर्न थाले । योग्यता नपुगे पनि आवेदन दिइहाल्थे, बोलाइहाल्छ कि भनेर, अहँ कतैबाट कसैले बोलाएन । दुई वर्षको अन्तरालमा सायद ८, १० वटा जति बैंकमा आवेदन हाले हाेला । तर पनि आशा त जिवितै थियो ।
वि.वि.एस पढ्न सुरु के गरेको थिए । एउटा केही जिल्ला कार्यक्षेत्र भएकोे बैंकले फोन गरेको थियो । तपाईको १७ गते परीक्षा छ आउनु भन्दै त्यो क्षण आज पनि याद आउँछ सायद अब म बैंकको जागिरे हुन्छु भनेर परीक्षा दिए । जे-जे जानेको थिए त्यही नै आयो ढुक्क थिए । अन्र्तवार्तामा बोलाउँछ भन्नेमा, अन्र्तवार्तालाई नि फोन आयो म लगभग ढुक्क भैसकेको थियो जागिर हुनेमा ।
हाम्रो कलेजको एक जना पढाउने सर पनि एउटा बैंकमा शाखा प्रबन्धक हुनुहुन्थ्यो । उहाँलाई देख्ने बित्तिकै निकै खुसी लाग्थ्यो । म उहाँ जस्तो हुन सक्छु होला कि नाई भन्ने मनमा लागिरहन्थ्यो । उहाँलाई अफिसमै गएर भेटे, कुरा गरे, के हुन्छ अन्र्तवार्तामा भनेर, उहाँले पनि ढुक्कसँग बोल, नजानेको कुरा थाहा छैन भन, भन्दै थुप्रै टिप्सहरु दिनुभएको थियो । बैंकले बोेलाएको समयअनुसार अन्र्तवार्तामा गए ।
सायद ६ जना जति हुनुहुन्थ्यो होला मलाई प्रश्न सोध्ने ।
म पनि ढुक्क हुँदै जानेको कुराको जवाफ दिइरहेको थिए । ढुक्क थिए जागिर पक्का हुनेमा, २,४ दिन सम्म फोन आएन म आफैँ फोन गर्दै रिजल्ट के भो भन्दै सोध्थे त्यहाँबाट खबर आउछ भनी राख्नुहुन्थ्यो । १०,१५ दिनसम्म पनि फोन नआएपछि साह्रै विचलन भए । मनमा खिन्न लागिरहेको थियो । मनमा यस्तो कसरी हुन्छ भनेर सोचिरहेको थिए ।
एक महिनापछि त्यही बैंकमा गए, कुरा गर्छु भन्दै, अनि थाहा भयो, हामी ५ जना अन्र्तवार्ता लिएको मध्ये ४ जना मात्र छनौट भयो भन्ने । म मा के कमजोरी थियो राम्रै गरेको थिए, किन पछि परे भन्ने कुराले ४,५ दिन सम्म निदाउन सकेन । सायद म अनुभव नै नभएर हो कि जस्तो लाग्न थाल्यो । अब कहाँको अनुभव लिउ के गरौ भन्ने तनाव चलिराखेको थियो दिमागमा, फेरि आफ्नो मान्छे कोही नभएरै हो कि बैंकमा जस्तो नि लागिरहेको थियो ।
त्यो बेला सहकारी र बैंक खासै फरक लाग्दैनथ्यो । सुनेको थिए सहकारीमा जागिर खान अलि सजिलो हुन्छ भनेर, त्यो दिनबाट बैंक सहकारी कुनैमा पनि आवेदन दिन बाँकी राखेन । कति ठाउँमा परीक्षा इन्टरभ्यु दिए धेरै ठाउँमा सफल हुन्छु जस्तो लाग्थ्यो तर विगत जस्तो धेरै अपेक्षा गर्न छाडिदिए र अघि बढिरहे ।
अन्तमा सबै प्रक्रियाबाट हाम्रो बजारको एउटा सहकारीमा जागिर पक्का भयो, खुशी त थिए तर मनमा आत्मसन्तुष्टि थिएन बैंकमै जागिर गर्ने भनि होमिएको थिए, मास्टर्स डिग्री नि लगभग सकिसकेको थियो सायद आवेदन नदिएको बैंक नै थिएन ।
अन्ततः एक राष्ट्रिय स्तरको बैंकबाट एचआर हेडले फोन गर्नुभो “बधाई छ भाइ” भन्दै त्यो दिन जमिनमा खुट्टाले नटेकिए जस्तो आकाशमा उडे जस्तो लागिरहेको थियो । सायद लामो समय पछि बैंकमा जागिर खाने सपना पुरा भएको थियो । जुन चिज निरन्तर प्रयास र धेरै संघर्ष गरेर प्राप्त हुन्छ त्यो चिजको जिन्दगीमा महत्व नै खास हुँदो रहेछ ।
(लेखक हाल लुम्बिनी विकास बैंक लि.बर्दघाट शाखामा शाखा प्रबन्धक पदमा कार्यरत हुनुहुन्छ ।)