July 13th, 2022

बीमा समितिद्वारा म्यादी बीमामा पुल प्रणाली खारेज


बैंकिङ खबर/ वैदेशिक रोजगारी जाने श्रमिकको म्यादी बीमा पुल प्रणालीमार्फत् नहुने भएको छ । बीमा समितिले म्यादी बीमामा पुल प्रणाली खारेज गर्दै १ साउनदेखि बीमा कम्पनीहरुबाटै सेवा लिन सकिने गरी व्यवस्था गरेको छ । १ माघ २०७५ मा समितिले म्यादी बीमा पुलमार्फत् गर्न सकिने व्यवस्था गरेको थियो । त्यसपछि कम्पनीहरुले संयुक्त कोष खडा गरेर म्यादी बीमा गराउँदै आएका छन् ।

समितिले अब पुल प्रणाली बन्द गर्न र यसअघि जारी भएका सम्पूर्ण बीमालेखहरुको दायित्व सकिएपछि पश्चात पुल स्वतः खारेज हुने उल्लेख गरेको छ । समितिले १ साउन २०७९ देखि सम्पूर्ण इच्छुक सबै जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो बीमालेख अनलाइन माध्यमबाट मात्र जारी गर्न दिइएको छ ।

अनलाइन माध्यमबाट बीमालेख जारी गर्दा भुक्तानी सेवा प्रदायकलाई उपलब्ध गराउने सेवा शुल्क बापतको रकम अन्य बीमालेख अनलाइनमार्फत जारी गर्दा लाग्ने शुल्क भन्दा बढी नतोक्न र भुक्तानी सेवा शुल्क बापतको रकम निर्धारित बीमा शुल्कमा समावेश गर्न नपाइने समितिले उल्लेख गरेको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय सुरु गर्नुअघि समितिलाई जानकारी दिन व्यवसाय बन्द गर्नुपरे कारणसहित समितिमा जानकारी गराउन पनि निर्देशनमा भनिएके छ ।

आर्थिक वर्ष ०७८/७९ को बीमांकीय मूल्यांकन साविककै व्यवस्था बमोजिम नेपाल पुनर्बीमा कम्पनीले गर्ने भएको छ । पुल अन्तर्गत रहेको दायित्वको दाबी रकम बीमालेख जारी गर्ने बीमा कम्पनीले नै यथाशिघ्र भुक्तानी गर्नुपर्ने र पुलमा सहभागी सबै बीमा कम्पनीकहरुले आफ्नो हिस्सा बमोजिमको दायित्व बहन गर्नु समितिको निर्देशनमा उल्लेख छ ।

पुलमा सहभागी बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय सम्बन्धी विवरण प्रत्येक त्रैमास समाप्त भएको मितिले ७ दिनभित्र नेपाल पुनर्बीमा कम्पनीलाई अनिवार्य पठाएर समितिलाई बोधार्थ दिनु पर्ने समितिले निर्देशनमा उल्लेख गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]